२०८३ मंसिर २, बुधबार | Wed, 18, Nov, 2026

पाँचखालका तीन रिसोर्टमा ९७ चिनियाँ नागरिक, १८ जनासँग पासपोर्ट नै छैन


५५०९ पाठक संख्या
  • २०८३ मंसिर २, बुधबार मा प्रकाशित १४ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखालमा सञ्चालित विभिन्न तीन रिसोर्टमा ९७ जना चिनियाँ नागरिक फेला परेपछि उनीहरूको गतिविधिमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ। स्थानीयको जनगुनासोपछि गरिएको अनुगमनका क्रममा ठूलो संख्यामा विदेशी नागरिक, ल्यापटप तथा मोबाइल फोन फेला परेपछि घटनाले थप रहस्य पैदा गरेको छ।

    जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेको संयुक्त टोलीले सोमबार पाँचखाल नगरपालिका–७ शिखरपुरस्थित ह्वाइटपार्क रिसोर्टमा छापा मारेर ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएकामा ३१ पुरुष र पाँच महिला छन्।

    जिल्ला प्रहरी कार्यालय काभ्रे तथा प्रहरी चौकी पाँचखालबाट खटिएको ३० जनाको प्रहरी टोलीले दिउँसो करिब ३ बजे रिसोर्टमा चेकजाँच गरेको थियो। सो क्रममा रिसोर्टका दुईवटा कोठामा ठूलो संख्यामा ल्यापटप तथा मोबाइल फोनसमेत फेला परेका थिए।

    प्रहरीका अनुसार पाँचखालका तीनवटा रिसोर्टमा गरी कुल ९७ जना चिनियाँ नागरिक बसोबास गरिरहेको पाइएको छ। पाँचखाल–७ को ह्वाइटपार्क रिसोर्टमा ३६ जना, वडा नं. ३ स्थित दीपज्योति रिसोर्टमा २४ जना र वडा नं. ४ स्थित टपटाउन रिसोर्टमा ३७ जना चिनियाँ नागरिक रहेको खुलेको हो।

    प्रारम्भिक जाँचका क्रममा उनीहरूको भिसा तथा कागजातको अवस्थासमेत फरक–फरक पाइएको प्रहरीले जनाएको छ। टपटाउन रिसोर्टमा रहेका अधिकांश चिनियाँ नागरिकसँग काम गर्ने (वर्किङ) भिसा रहेको पाइएको छ भने दीपज्योति रिसोर्टमा बस्ने अधिकांशसँग भ्रमण (भिजिट) भिसा रहेको खुलेको छ।

    सबैभन्दा बढी शंकास्पद गतिविधिको आशंका गरिएको ह्वाइटपार्क रिसोर्टमा रहेका ३६ जनामध्ये १८ जनासँग राहदानी (पासपोर्ट) नै नभएको पाइएको छ। उनीहरूले आफूहरू थान्का व्यवसाय तथा पर्यटनसम्बन्धी काम गर्ने उद्देश्यले त्यहाँ बसेको बताए पनि त्यसलाई पुष्टि गर्ने आधिकारिक कागजात भने फेला नपरेको प्रहरी स्रोतले जनाएको छ।

    प्रारम्भिक अनुसन्धानबाट उनीहरू गत साउनदेखि मासिक पाँच लाख रुपैयाँ भाडा तिर्ने सर्तमा ह्वाइटपार्क रिसोर्टमा बस्दै आएको खुलेको छ। तर, त्यहाँबाट बरामद भएका विद्युतीय उपकरण र उनीहरूको गतिविधिबारे थप अनुसन्धान आवश्यक देखिएको प्रहरीको भनाइ छ।

    घटनाको प्रकृति र वास्तविकता पत्ता लगाउन नेपाल प्रहरी प्रधान कार्यालयसँग प्राविधिक विज्ञसहितको थप अनुसन्धान टोलीसमेत माग गरिएको छ। नियन्त्रणमा लिइएका सबै ३६ जनालाई थप सोधपुछ तथा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको छ।

    यसैबीच, ह्वाइटपार्क रिसोर्टमा रहेका चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएपछि टपटाउन रिसोर्टमा बस्दै आएका चिनियाँ नागरिक भने राति करिब १२ बजे रिसोर्ट सञ्चालकलाई जानकारी गराएर बाहिरिएको सूचना प्राप्त भएको छ। यद्यपि, पाँचखालकै फेमेली रिसोर्टमा रहेका विदेशी नागरिक भने समाचार तयार पार्दासम्म त्यहीँ रहेको बताइएको छ।

    एकै नगरपालिकाका तीनवटा रिसोर्टमा ठूलो संख्यामा विदेशी नागरिक बसोबास गर्नु, उनीहरूको भिसा तथा राहदानीको अवस्था फरक देखिनु र केही स्थानमा विद्युतीय उपकरणको ठूलो परिमाण फेला पर्नुले घटनालाई थप चासोको विषय बनाएको छ।

    विदेशी नागरिकको नेपाल बसाइको उद्देश्य, उनीहरूले सञ्चालन गरिरहेको भनिएको व्यवसायको वैधानिकता, विद्युतीय उपकरणको प्रयोग तथा सम्भावित शंकास्पद गतिविधिबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। अनुसन्धानबाट मात्रै उनीहरूको वास्तविक उद्देश्य र गतिविधिबारे स्पष्ट हुने प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑