२०८३ श्रावण १७, आईतबार | Sun, 02, Aug, 2026

महाभारतमा घाइतेको हेलिकप्टरमार्फत उद्धार


१०२७१ पाठक संख्या
  • २०८२ आश्विन २२, बुधबार मा प्रकाशित ९ महिना अघि
  • काभ्रेपलाञ्चोक ।गत असोज १७ र १८ गतेको अविरल वर्षाका कारण घर भत्किँदा गम्भीर घाइते भएका काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–८ घर्तिछापका ४६ वर्षीय दूधलाल मोक्तानलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ लगिएको छ।

    अविरल वर्षाले असोज २० गते मोक्तानको घर भत्किँदा गारोले टाउकोमा गहिरो चोट लागेको थियो। स्थानीयको सहयोगमा प्रारम्भिक उपचार गरिएको भए पनि अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि बुधवार सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको हो।

    घाइते मोक्तानको उद्धारका लागि वडा कार्यालयले सिफारिस गरेपछि महाभारत गाउँपालिकाले हेलि एम्बुलेन्सको व्यवस्था मिलाएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए। उनका अनुसार लगातारको वर्षाले गाउँपालिका क्षेत्रका अधिकांश सडक अवरुद्ध भएकाले सडकमार्गबाट उद्धार सम्भव नभएपछि हवाईमार्ग प्रयोग गरिएको हो।

    अध्यक्ष जिम्बाले पछिल्ला दिनमा अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण महाभारत, खानीखोला, रोशी र बेथानचोक गाउँपालिकामा सडक सञ्जाल, विद्युत् र सञ्चार सेवा अवरुद्ध भएको बताए। “सडक, बिजुली र सम्पर्क सबै कटिएको अवस्थामा मानवीय उद्धारका लागि हामीले सेनासँग समन्वय गरी हेलिकप्टरमार्फत उद्धार गर्नुपर्‍यो,” उनले भने।

    स्थानीयवासीका अनुसार अहिले पनि घर्तिछाप क्षेत्रमा बाढी–पहिरोको जोखिम कायमै छ र धेरै परिवार अस्थायी रूपमा सुरक्षित स्थानमा बसोबास गरिरहेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार