२०८३ श्रावण १५, शुक्रबार | Fri, 31, Jul, 2026

अष्ट्रेलियाबाट नेपाली संगीतमा नयाँ स्वाद, म्याक्स बाबुको ‘लाग्छ सरमै’


२७०५ पाठक संख्या
  • २०८२ पौष २२, मंगलबार मा प्रकाशित ६ महिना अघि
  • काभ्रेपलाञ्चोक ।अष्ट्रेलियाको सिड्नीमा उद्यमी तथा समाजसेवीका रूपमा परिचित महेश प्रसाईं ‘म्याक्स बाबु’ले नयाँ वर्षको अवसर पारेर नयाँ गीत सार्वजनिक गर्नुभएको छ। चर्चित गायिका रचना रिमालसँगको स्वर रहेको ‘लाग्छ सरमै’ बोलको गीत हालै दर्शक–श्रोतामाझ सार्वजनिक भएको हो।

    सिड्नीका नेपाली सांस्कृतिक कार्यक्रमहरूमा निरन्तर प्रस्तुति दिँदै आउनुभएका म्याक्स बाबु कुशल परफर्मरका रूपमा समेत परिचित हुनुहुन्छ। सार्वजनिक गीत ‘लाग्छ सरमै’को भिडियोमा उहाँले नायिका गरिमा शर्मासँग अभिनय गर्नुभएको छ। कला र सिर्जनशीलतालाई जीवन यात्रासँग जोड्दै आउनुभएका म्याक्स बाबुले यस सांगीतिक प्रस्तुतिले नेपाली गीत–संगीत क्षेत्र र नेपाली समुदायमा विशेष स्थान बनाउने विश्वास व्यक्त गर्नुभएको छ।

    युवा अवस्थामा अष्ट्रेलिया पुग्नुभएका म्याक्स बाबुले सन् १९७४ एडीदेखि हालसम्म सिड्नीमा आयोजना भएका विभिन्न सांगीतिक कार्यक्रमहरूमा नेपालका ख्यातिप्राप्त गायक–गायिका तथा कलाकारहरूसँग दर्जनौँ पटक मञ्च साझा गरिसक्नुभएको छ। गीत–संगीतसँगै हास्य क्षेत्रमा पनि सक्रिय रहँदै आउनुभएका उहाँले मह जोडीसँग समेत प्रस्तुति दिइसक्नुभएको छ।

    दुई दशकदेखि अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएका म्याक्स बाबुले सिड्नीको आइकोनिक थिएटर र राउण्ड हाउसजस्ता ठूला इभेन्टहरूमा समेत प्रस्तुति दिनुभएको छ। पछिल्लो समय नेपाली चलचित्र ‘पीआर’मा समेत उहाँको अभिनय देख्न सकिन्छ। कुन्ती मोक्तान, रामकृष्ण ढकाल, शिव परियार, रचना रिमाल, समीक्षा अधिकारीलगायत चर्चित कलाकारसँग मञ्च साझा गरिसक्नुभएका उहाँ नयाँ गीतले युवा पुस्तादेखि वृद्धवृद्धासम्मको मन जित्नेमा आशावादी हुनुहुन्छ।

    पूर्वी नेपालको ताप्लेजुङमा जन्मिनुभएका म्याक्स बाबु सन् २००८ मा विद्यार्थीका रूपमा अष्ट्रेलिया जानुभएको थियो। प्रारम्भिक संघर्षपछि निरन्तर मिहिनेत र आत्मविश्वासका साथ उहाँले सन् २०१५ मा सिड्नीको रकडेलमा ‘एभरेष्ट बुचरी’ स्थापना गर्नुभयो। दशकभन्दा बढी समयदेखि व्यवसाय गर्दै आउनुभएका उहाँले हालै ‘कन्ट्री फ्रेश रकडेल’ सञ्चालनमा ल्याउनुभएको छ, जसको उद्घाटन न्यू साउथ वेल्सका प्रिमियरद्वारा गरिएको थियो।

    न्यू साउथ वेल्स राज्यबाट एकै वर्षमा तीन पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली मूलका व्यक्ति बन्नुभएका म्याक्स बाबुको काम त्यहाँको राष्ट्रिय मिडिया ‘द लिडर’मा समेत फिचर भएको छ। व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आउनुभएका उहाँ ‘भिजन फर मोटिभेसन’ नामक गैर–नाफामूलक संस्थाका संस्थापकसमेत हुनुहुन्छ, जसले नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीहरूको हितमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

    संगीत र अभिनयमा मात्र सीमित नरही उद्यमशीलता र कलाकारितालाई सन्तुलित रूपमा अघि बढाउँदै आउनुभएका म्याक्स बाबु व्यावसायिक सफलतासँगै सांस्कृतिक पहिचान जोगाउने अभियन्ताका रूपमा पनि चिनिनुहुन्छ। मञ्चमा होस् वा व्यवसायमा, उहाँको प्रस्तुतिमा आत्मविश्वास, मिहिनेत र नेपालीपनको स्पष्ट झल्को देखिन्छ, जसले उहाँलाई उद्यमी–कलाकारको प्रेरणादायी पहिचान दिलाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार