२०८३ आश्विन १०, शनिबार | Sat, 26, Sep, 2026

होर्मुज खोल्ने इरानको प्रस्तावमा ट्रम्पको ‘ब्रेक’, निर्वाचनपछि फेरि आक्रमणको संकेत


७८१ पाठक संख्या
  • २०८३ आश्विन १०, शनिबार मा प्रकाशित १२ घण्टा अघि
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको सातदिने युद्धविराम तथा तनाव अन्त्य गर्ने प्रस्ताव अस्वीकार गरेको द वाल स्ट्रिट जर्नल (डब्लुएसजे) ले जनाएको छ। अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै प्रकाशित रिपोर्टअनुसार ट्रम्पले नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनपछि इरानमाथि पुनः सैन्य आक्रमण सुरु गर्ने अपेक्षा व्यक्त गरेका छन्।

    इरानले युद्धविरामसँगै रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलडमरूमध्य पुनः खोल्ने र अमेरिकासँग आणविक वार्ता अघि बढाउने प्रस्ताव अघि सारेको थियो। इरानी विदेशमन्त्री अब्बास अराघचीका अनुसार अमेरिकाले प्रस्तावमा उल्लेख गरिएका आवश्यक सर्त पूरा गरेपछि सात दिनभित्र जलडमरूमध्य खुला गर्ने र वार्ता पुनः सुरु गर्ने योजना थियो।

    इरानको प्रस्तावमा अमेरिकाले इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी हटाउने, इरानी तेल निर्यातमाथिका प्रतिबन्ध खुकुलो पार्ने तथा केही रोक्का गरिएका सम्पत्ति फुकुवा गर्ने विषय समावेश रहेको बताइएको छ। त्यसको बदलामा इरानले होर्मुज जलडमरूमध्य खोल्ने र आणविक कार्यक्रमसम्बन्धी वार्ता पुनः अघि बढाउने प्रस्ताव गरेको हो।

    संयुक्त राष्ट्रसंघको महासभाका क्रममा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै अराघचीले अमेरिकी पक्षबाट सम्झौताका लागि आवश्यक कदम चालिएपछि होर्मुज खोल्ने प्रक्रिया सुरु गर्न आफूहरू तयार रहेको बताएका थिए। उनका अनुसार अमेरिकाले प्रस्ताव स्वीकार गरेको अर्को दिनदेखि सातदिने प्रक्रिया सुरु हुनेछ।

    तर, डब्लुएसजेको रिपोर्टअनुसार ट्रम्प प्रशासनले इरानमाथिको दबाब तत्काल हटाउने पक्षमा नरहेको देखिएको छ। अमेरिकी अधिकारीहरूका अनुसार ट्रम्पले इरानले अमेरिकी मागहरू पूरा गर्नेमा समेत शंका व्यक्त गरेका छन्। यद्यपि, रिपोर्टमा अमेरिकी राष्ट्रपतिको धारणा आगामी दिनमा परिवर्तन हुन सक्ने सम्भावना पनि औंल्याइएको छ।

    यसअघि संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै ट्रम्पले इरानसँग निर्वाचनपछि सम्झौता हुन सक्ने बताएका थिए भने इरानमाथि कडा चेतावनीसमेत दिएका थिए। पछिल्लो घटनाक्रमले भने अमेरिका–इरानबीचको कूटनीतिक प्रयाससँगै सैन्य तनाव पनि कायमै रहेको देखाएको छ।

    इरानले भने अमेरिकी पक्षबाट औपचारिक जवाफको प्रतीक्षा गरिरहेको जनाएको छ। होर्मुज जलडमरूमध्य पुनः खुल्ने विषयले क्षेत्रीय मात्र नभई विश्वव्यापी ऊर्जा आपूर्तिमा समेत प्रत्यक्ष प्रभाव पार्ने भएकाले अमेरिका–इरानबीचको पछिल्लो गतिरोधलाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑