२०८३ आश्विन १३, मंगलबार | Tue, 29, Sep, 2026

पहिरोले थुनिए राजमार्ग, बाढीले बगायो सडकका डाइभर्सन


१५३५ पाठक संख्या
  • २०८३ आश्विन १२, सोमबार मा प्रकाशित १ दिन अघि
  • काठमाडौं । अविरल वर्षाका कारण पहिरो र बाढीले पृथ्वी राजमार्गसहित काठमाडौं उपत्यका जोड्ने विभिन्न राष्ट्रिय राजमार्गको यातायात प्रभावित भएको छ। अवरुद्ध सडक खुलाउन सुरक्षाकर्मी तथा सडककर्मीले निरन्तर काम गरिरहेका छन्।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नरेशराज सुवेदीका अनुसार धादिङको गजुरी–२ चालिसे र गजुरी–५ बाङ्गेमोडमा ठूलो परिमाणमा लेदोसहित पहिरो खसेपछि सडक खुलाउने काम भइरहेको छ। ती स्थानमा सडक पूर्ण रूपमा सञ्चालनमा आउन केही समय लाग्ने जनाइएको छ।

    कृष्णभीरको पहिरो पन्छाएपछि भने एकतर्फी रूपमा सवारीसाधन सञ्चालनमा आएका छन्। तर थप वर्षा हुँदा माथिबाट पुनः पहिरो खस्ने जोखिम रहेकाले यातायात सञ्चालनमा समस्या आउन सक्ने प्रहरीले जनाएको छ।

    वर्षाका कारण पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथसहित ७ राष्ट्रिय राजमार्ग प्रभावित भएका छन्। कान्ति लोकपथअन्तर्गत ठिङ्गन तथा फर्पिङ–फाखेल खण्डमा पहिरो हटाउने काम जारी छ।

    बीपी राजमार्गको माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे र चौकीडाँडालगायत स्थानमा पहिरो तथा बाढीले डाइभर्सन बगाउँदा यातायात अवरुद्ध भएको छ।

    दक्षिणकाली–सिस्नेरी सडकमा भने साना सवारीसाधन सञ्चालन भइरहेका छन्। ठूला सवारीसाधनलाई त्रिभुवन राजपथ हुँदै आलोपालो सञ्चालन गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।

    ट्राफिक प्रहरीले राजमार्गको अवस्था सामान्य नभएसम्म जबर्जस्ती अवरुद्ध सडक पार नगर्न तथा पूर्वसूचना लिएर मात्र यात्रा गर्न यात्रु र चालकलाई आग्रह गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑