काठमाडौं, १२ भदौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन केही दिन पछाडि सर्ने भएको छ। यसअघि असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका तय गरिएको थियो।
कांग्रेसका एक शीर्ष पदाधिकारीका अनुसार देशभर बाढी–पहिरोका कारण उत्पन्न विपद् र महाधिवेशन प्रतिनिधिहरूको आवागमनमा परेको समस्यालाई ध्यानमा राख्दै महाधिवेशनको मिति केही दिन सार्ने तयारी गरिएको हो।
उनका अनुसार महाधिवेशन ५–६ दिनभन्दा बढी नलम्ब्याउने गरी छलफल भइरहेको छ। “बाढी–पहिरोका कारण बाटोको समस्या छ। मान्छेका घर बगेका छन्, बाटो बगेको छ। काठमाडौं आउने अवस्था छैन,” ती पदाधिकारीले भने, “यस्तो बेलामा मान्छेको ज्यानभन्दा कांग्रेसको अधिवेशन ठूलो हुँदैन।”
महाधिवेशन असोज १९ गतेदेखि सुरु गर्ने कि २१ गतेदेखि गर्ने भन्ने विषयमा कांग्रेस नेताहरूबीच छलफल भइरहेको छ।
यसैबीच, कांग्रेसको महाधिवेशनको मितिलाई लिएर पार्टीभित्र विवादसमेत जारी छ। संस्थापन पक्षले बाढी–पहिरोको अवस्थालाई मध्यनजर गर्दै केही दिन मिति सार्ने तयारी गरिरहेका बेला निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष भने मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारीमा जुटेको छ।
संस्थापन पक्षले हाल देशभर वडा र क्षेत्रीय अधिवेशन गरिरहेको छ। देउवा पक्षले भने असोज १५ गते वडा अधिवेशन गर्ने तयारी गरेको छ।
यससँगै कांग्रेसको १५औँ महाधिवेशनको मिति, अधिवेशन तालिका र आन्तरिक विवाद थप पेचिलो बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस