काभ्रेपलाञ्चोक । असोज १८ र १९ (शुक्रवार र शनिवार) गतेको अविरल बर्षातले विपी राजमार्गमा क्षति भएको छ । बाढीको कारण विभिन्न १४ स्थानमा सडक क्षति भएपछि सवारी आवागमनमा पुुर्ण रुपमा अवरोध भएको छ ।
अबरुद्ध बिपी राजमार्ग अस्थायी रुपमा सञ्चालनको लागि आज (मंगलवार) बाट निर्माण कार्य सुरु गर्ने भएको छ । जसमा थान्सिङ बेसी पुल निर्माण को लागी थप पहल गर्ने गरी तीन स्थानीय सरकार नमोबुद्द नगरपालिका, रोशी गाउपालिका र महाभारत गाउपालिका, सडक बिभाग, निर्माण व्यावसायी तथा सरोकारवाला हरुको संयुक्त समन्वयात्मक बैठक सम्पन्न गरि निर्माण कार्य सुरु गर्ने भएको छ ।
गत वर्ष असोज १०‚ ११ र १२ गतेको अविरल बर्षातसँगै आएको बाढीपहिरोले करिब २९ किलोमिटर सडक पूर्णरुपमा क्षति भएपछि सडक डिभिजनले झण्डै एक महिनाको प्रयासमा डाइभर्सनको माध्यमबाट सडक निर्माण गरी यातायात सञ्चालनमा ल्याएको थियो । तर सो समय भन्दा पछाडि सामान्य रुपमा वर्षात हुँदा पनि सडक अवरोध हुँदै आएको थियो ।
असोज १८ र १९ गतेको अविरल बर्षातले गर्दा क्षति भएको सडक तत्काल बन्ने अवस्था छैन । रोसी खोलामा पानीको वहाव भएकोले तत्काल डाइभर्सनको माध्यमबाट सडक सञ्चालन गर्न नसकिने सडक डिभिजनले जनाएको छ । रोसी खोलामा आएको बाढी र विभिन्न स्थानमा आएको पहिरोबाट विपी राजमार्गको बर्खेखोलादेखि विभिन्न १४ स्थानमा डाइभर्सन सडक पूर्णरुपमा क्षति पुगेको थियो । बाढीबाट माम्ती खोलामा चारसय मिटर‚ माम्तीमा २३० मिटर‚ माख्लो पिप्लेमा २२० मिटर‚ तल्लो पिप्लेमा २३५ मिटर‚ डालाबेंसीमा चारसय मिटर‚ कालढुङ्गास्थित भ्याकुरे खोलामा १७५ मिटर‚ बोक्सीकुनामा दुई सय मिटर सडक बगाएको छ ।
त्यसैगरी चिउरीबासमा १७५ मिटर‚ नार्केमा १५० मिटर‚ गिम्दीबेंसीमा दुईसय मिटर‚ चारसयबेंसीमा २५० मिटर‚ कटुञ्जेबेंसीमा १५० मिटर‚ चौकीडाँडामा ३५० मिटर बाढीबाट सडक पूर्णरुपमा क्षति भएको र पिप्लेमा आएको सुख्खा पहिरोबाट करिब ३५० मिटर सडकमा क्षति पुगेको थियो । तत्काल क्षति ग्रस्त सडक सञ्चालनमा नआउने भएपछि बैकल्पिक मार्ग अपनाउन जरुरी भएको छ ।
पूर्वबाट र रामेछापबाट काठमाडौँ आउने र काठमाडौँ बाट पुर्वतर्फ आवत जावत गर्ने सवारीसाधनहरूलाई वैकल्पिक मार्गको रुपमा तेमालको सडक प्रयोग गर्न सकिने भएको छ । उक्त सडक प्रयोग गर्दा विपी राजमार्ग भन्दा १२ किलोमिटर दुरी कम हुने छ । विपी राजमार्ग अवरोध भएपछि यातायात सञ्चालनमा सहजता रहोस भनि सडक मर्मतसंभार गरेको तेमाल गाउँपालिका उपाध्यक्ष दल मान थोकर (डि.एम) ले जानकारी गराउनु भयो । वैकल्पिक मार्ग सित्खा पुल–रामेछापको लुभु–सिन्धुरेटार–तेमाल–९ को संगम स्थलको पुल–मुक्पाटार– मैनाज्याङ – चोपटार–मेच्छे पौवा–चापाखुरी–नारायणस्थान–भकुण्डे हुँदै काठमाडौं सम्मको आवागमन गर्न सकिने व्यवस्था गरिएको छ । तेमाल गाउंपालिका स्थित मुक्पाटारको पुल तरेर सुनापति गाउँपालिका लोक मार्ग हुदै खुर्कोट पुग्न सकिने जुन सडक प्रयोग गर्दा धुलिखेलबाट खुर्कोट ७४ किलोमिटर हुन्छ । धुलिखेलबाट विपि राजमार्ग हुदै खुर्कोट पुग्न ८६ किलोमिटर पार गर्नुपर्ने हुन्छ ।
त्यसैगरी दोस्रो बैकल्पिक मार्गको रुपमा धुलिखेलबाट पाँचखाल तामाघाट ‚ बोहोरेदोभान ‚ आधावाटो ‚ कोटतेमाल ‚ नारायणस्थान ‚ मेच्छेपौवा ‚ मुक्पाटर ‚ पुल तरेर सुनापाती गाउंपालिका लोकमार्ग हुदै खुर्कोट सम्म ७१ किलोमिटरको दुरी रहन्छ । विपी राजमार्गको हालकै सडकको नक्सालाई कायम गरेर सडक मर्मत संभार गर्दा रोशी खोलाको कारण समय समयमा समस्या निरन्तर रहन्छ । दिर्घकालिन ढंगबाट सडक सञ्चालन गर्नेहो भने हालको नकलाई परिवर्तन गर्न जरुरी देखिन्छ । त्यसैगरी वैकल्पिक सडकको व्यवस्था राम्रो नभएमा हाल क्षति भएको सडक मर्मत संभारको क्रममा समेत सवारी आवागमनमा समस्या रहिरहन्छ । त्यसैले सवैभन्दा छोटो दुरि (७१ किलोमिटर) को वैकल्पिक मार्ग धुलिखेल पाँचखाल ‚ आधावाट ‚ तेमाल हुदै खुर्कोक र धुलिखेल भकुण्डेवेसी ‚ कानपुर तेमाल नारायणस्थान हुदै खुर्कोट (७४ किलोमिटर) सम्मको सडकको थप व्यवस्था गर्न जरुरी रहन्छ ।
क्षति ग्रस्त सडकको बिषयमा सडक डिभिजन भक्तपुरका सूचना अधिकारी ई. बिन्दु अधिकारीसंग सम्पर्क गर्दा रोशी खोलाको बहाव नघटेसम्म क्षतिको यथार्थ विवरण आउन नसक्ने बताउनुभयो । उहाँले तत्कालको अवस्था हेर्दा विपी राजमार्गको चौकीडाँडादेखि बर्खे खोलासम्मको करिब ३.४१० किलोमिटर डाइभर्सन सडकमा क्षति पुगेको बताउनुभयो ।
उहाँले खोलाको छेउबाट अस्थायी डाइभर्सन सडक बनाउनुपर्ने अवस्था रहेकाले खोलाको बहाव कम नभएसम्म सडकको काम गर्न नसकिने बताउनुभयो । सडकको बहाव कम भएपछी कम्तिमा एक साताको अवधिमा क्षतिग्रस्त सडकमा सवारीसाधन सञ्चालन गराउन प्रयास गर्ने बताउनु भयो ।
छोटो दुरीको वैकल्पिक मार्गको पहिचान हुन नसक्दा बिपी राजमार्गको अस्थायी डाइभर्सन सडक बाढीले बगाएपछि पूर्वी पहाडी र तराईका जिल्ला जाने सवारी साधनहरु अरनिको राजमार्ग हुँदै लामो यात्रा गर्न बाध्य भएका छन् । यात्रुहरुले अरनिको राजमार्गको धुलिखेलदेखि चरिकोटसम्म करिब १ सय किलोमिटर सडक र चरिकोटबाट सिन्धुलीको खुर्कोटसम्मको ७५ किलोमिटर गरि १७५ किलोमिटरको दुरी पार गर्न बाध्य भएका छन् । धुलिखेलबाट खुर्कोट पुग्न ८७ किलोमिटर पार गरे पुग्नेमा ८८ किलोमिटर बडि यात्रा गरिरहेका छन् ।
छोटो दुरीको तेमाल हुदैको सडकमा साना र फोरह्विल भएका साना सवारी साधन सहज ढंगबाट सञ्चालन भएका छन् । उक्त सडक खण्ड कच्ची र साँघुरो भएकाले यात्रामा समय लाग्छ । सहज ढंगवाट ठुला गाडिहरु समेत सञ्चालन गर्नकोलागि तेमाल गाउंपालिकाले सडक मर्मत सम्भार कार्यमा निरन्तर लागिरहेको छ ।

प्रतिक्रिया दिनुहोस