२०८३ श्रावण १७, आईतबार | Sun, 02, Aug, 2026

प्रवासी नेपालीको मताधिकार : अधिकार सुनिश्चितताको ऐतिहासिक पहल


७६४५ पाठक संख्या
  • २०८२ कार्तिक ११, मंगलबार मा प्रकाशित ९ महिना अघि
  • ११ कात्तिक, काभ्रेपलाञ्चोक। सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने व्यवस्था गर्न अध्यादेश ल्याउने तयारी गरेको छ। यसका लागि गृह मन्त्रालयले प्रचलित ऐन संशोधनको मस्यौदा तयार पारेर निर्वाचन आयोगमा सुझावका लागि पठाएको छ।

    गृह मन्त्रालयका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, निर्वाचन आयोग ऐन, मतदाता नामावली ऐन र निर्वाचन कसुर तथा सजाय ऐनमा संशोधन गरी प्रवासी नेपालीलाई समानुपातिक प्रणालीतर्फ मतदानको अधिकार दिन लागिएको हो।

    मन्त्रालयको कानुन महाशाखाका प्रमुख सहसचिव भरतमणि रिजालले विदेशमा बस्ने नेपाली मतदातालाई विदेशमै भोट हाल्न दिने विषयमा प्राविधिक छलफल भइरहेको बताए। ‘हाल समानुपातिकतर्फ भोट हाल्ने व्यवस्था गर्न मस्यौदा तयार भएको छ, आयोगबाट सुझाव आएपछि थप छलफल हुनेछ,’ रिजालले भने।

    निर्वाचन आयोगले यसअघि नै प्रवासी नेपालीको मताधिकार सुनिश्चित गर्न प्रचलित ऐन संशोधनको प्रस्ताव गृह मन्त्रालयमा पठाएको थियो। आयोगले विदेशमा मतदानका तीन विकल्प सुझाएको छ — अग्रिम मतदान, विदेशस्थित कूटनीतिक नियोगमार्फत मतदान, र अनलाइन मतदान।

    सर्वोच्च अदालतले २०७४ चैत ७ गते विदेशमा रहेका नेपालीलाई विदेशमै मतदानको अधिकार सुनिश्चित गर्न निर्देशनात्मक आदेश दिएको थियो। तर सो आदेश कार्यान्वयन नहुँदा सरकार निरन्तर आलोचनामा परेको छ। अब गृह मन्त्रालयले सो आदेश पालना गर्ने उद्देश्यसहित ऐन संशोधनको प्रक्रिया अघि बढाएको हो।

    सरकारले अध्यादेशमार्फत कानुनी व्यवस्था पूरा गरेपछि करिब ३० लाखभन्दा बढी प्रवासी नेपालीले पहिलोपटक आफ्नो मत प्रयोग गर्न सक्ने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार