काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाललाई प्रधान कार्यालय बनाएको र जिल्लाभरै कार्यक्षेत्र रहेको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०८२/०८३ को प्रथम त्रैमासिक समीक्षा बैठक कार्यक्रम शुक्रवार पाँचखाल नगरपालिका हलमा सम्पन्न भएको छ।
कार्यक्रम संस्थाका अध्यक्ष बाबुकाजी पराजुलीको सभाध्यक्षता तथा सचिव रामप्रसाद कोइरालाको सञ्चालनमा सम्पन्न भयो। समिक्षा कार्यक्रमको स्वागत मन्तव्य संचालक समितिका सदस्य रामेश्वर सापकोटाले प्रस्तुत गर्नुभएको थियो।
संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकारहरूको संयुक्त उद्घाटनपछि प्रमुख कार्यकारी अधिकृत ठाकुरनाथ अधिकारीले पहिलो चौमासिकको उपलब्धि तथा आगामी योजनाहरू प्रस्तुत गर्नुभयो।
विगतको तुलनामा उल्लेख्य प्रगति
संस्थाले विगत वर्षहरूको तुलनामा सबै क्षेत्रमा उल्लेख्य प्रगति गरेको र बाह्य कर्जा घट्दो अवस्थामा रहेको जानकारी दिइयो। हाल संस्थामा ११ हजार ४८८ जना शेयर सदस्य रहेका छन्।
संस्थाका केही प्रमुख वित्तीय विवरण :
शेयर पूँजी : रु. १० करोड २३ लाख ७ हजार ९००
जगेडा कोष : रु. ९ करोड २ लाख ११ हजार ८७०
बचत रकम : रु. ८१ करोड ४८ लाख ५१ हजार ७०३
समीक्षाले शेयर सदस्यका हितमा आगामी प्राथमिकता यस्ता रहने उल्लेख गर्यो :
स्वास्थ्य उपचारमा सुविधा
व्यवसाय प्रवर्द्धनमा सहयोग
कारोबारमा पारदर्शिता र विश्वसनीयता
प्रविधिमैत्री सेवा, मिस–कलबैंकिङ्गको विस्तार
घरदैलोमै सहकारी सेवा
गुणात्मक सेवालाई प्राथमिकता
संस्थाको छवि अभिवृद्धिमा जोड
नेतृत्वको सुझाव तथा छलफल
कार्यक्रममा संस्थापक अध्यक्ष इस्वरी राजकुमार मैनाली, निवर्तमान अध्यक्ष सरोज सापकोटा, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक बद्रीप्रसाद आचार्यलगायतले आ–आफ्नो मन्तव्य राख्दै शेयर सदस्यका हितमा थप सेवा–सुविधा आवश्यक रहेको धारणा प्रस्तुत गर्नुभएको थियो। सक्रिय सदस्य संख्या बढाउँदै निष्क्रिय सदस्यलाई शून्यमा पुर्याउने विषयमा विशेष छलफल भयो।
अध्यक्ष पराजुलीको प्रतिबद्धता
कार्यक्रम समापन गर्दै अध्यक्ष बाबुकाजी पराजुलीले छलफलमा आएको सुझावहरू अक्षरशः कार्यान्वयन गर्दै संस्थालाई जिल्लाकै अग्रणी सहकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले सहकारी क्षेत्रमा केही कमजोरी भए पनि दुष्प्रचारका कारण प्रतिष्ठित सहकारीहरू समेत प्रभावित भएको बताउँदै, नीति–विधि र सहकारी सिद्धान्तमा अडिग रही जनविश्वास कायम गर्न आग्रह गर्नुभयो।
“झोलामा कार्यालय खोल्ने सहकारीले प्रलोभन देखाएर बदनाम गरेको आधारमा सहकारीका सिद्धान्तमा अडिग संस्थाहरूलाई दुष्प्रचार गर्नु उचित होइन,”—अध्यक्ष पराजुलीको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस