२०८३ अषाढ ५, शुक्रबार | Fri, 19, Jun, 2026

आज शुक्रबार सार्वजनिक बिदा, मृतक परिवारलाई जनही ५० हजार राहत


१९७७ पाठक संख्या
  • २०८३ अषाढ ५, शुक्रबार मा प्रकाशित २ घण्टा अघि
  • काभ्रे, ४ असार । बीपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा भएको हृदयविदारक बस दुर्घटनाले शोकमा डुबेको रोशी गाउँपालिकाले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शुक्रबार (असार ५ गते) सार्वजनिक शोक बिदा घोषणा गरेको छ। दुर्घटनामा गाउँपालिकाका सात स्थानीयसहित आठ जनाले ज्यान गुमाएपछि गाउँपालिकाले शोक वक्तव्य जारी गर्दै आफ्ना मातहतका सम्पूर्ण कार्यालय तथा शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरेको हो।

    गत जेठ २९ गते दिउँसो भएको उक्त दुर्घटनाले रोशी क्षेत्रलाई स्तब्ध बनाएको छ। गाउँपालिकाले आफ्ना नागरिकहरूको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकको यस घडीमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।

    गाउँपालिका अध्यक्ष दिनेश लामाद्वारा हस्ताक्षरित वक्तव्यमा दुर्घटनामा ज्यान गुमाएका नागरिकहरूप्रति सम्मान प्रकट गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आवश्यक सहयोगका लागि गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।

    शोक बिदा गाउँपालिका कार्यालय, वडा कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय, विभिन्न शैक्षिक संस्था तथा आकस्मिक सेवा बाहेकका स्वास्थ्य संस्थाहरूमा लागू हुने जनाइएको छ। गाउँपालिकाका अनुसार यस निर्णयले दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा सामूहिक श्रद्धाञ्जली अर्पण गर्नेछ।

    दुर्घटनामा परी मृत्यु भएका परिवारलाई तत्काल राहतस्वरूप जनही ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गाउँपालिकाले गरेको छ। अध्यक्ष लामाका अनुसार उक्त रकम किरिया खर्च तथा प्रारम्भिक राहतका लागि प्रदान गरिनेछ।

    गत जेठ २९ गते बीपी राजमार्ग हुँदै रोशी गाउँपालिका–८ खार्पाचोकबाट रोशी–६ सुगुरेतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको पूर्व अरनिको यातायातको यात्रुवाहक बस नमोबुद्ध–२ बुच्चाकोटमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा आठ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य यात्रु घाइते भएका थिए।

    स्थानीय बासिन्दाहरूका अनुसार दुर्घटनापछि सम्पूर्ण रोशी क्षेत्र शोकाकुल बनेको छ। गाउँपालिकाको शोक बिदा र राहत घोषणालाई मृतक परिवारप्रति संवेदनशीलता तथा स्थानीय सरकारको उत्तरदायित्वबोधको रूपमा हेरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार