२०८३ अषाढ २८, आईतबार | Sun, 12, Jul, 2026

तीन प्रदेशका पहाडमा अति भारी वर्षाको चेतावनी, देशभर मनसुन सक्रिय


९६३ पाठक संख्या
  • २०८३ अषाढ २८, आईतबार मा प्रकाशित १३ घण्टा अघि
  • काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायु सक्रिय रहेकाले आजदेखि वर्षा थप तीव्र हुने जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिम क्षेत्रमा औसत स्थानभन्दा केही माथि र पूर्वी क्षेत्रमा नेपालको तराई नजिक रहेकाले देशका अधिकांश भूभागमा वर्षाको प्रभाव देखिएको हो।

    हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थान तथा पहाडी क्षेत्रका धेरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थान, साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि चट्याङ्गसहित वर्षा हुने अनुमान गरिएको छ।

    मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

    आज राति पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका धेरै स्थान, लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

    महाशाखाले विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा अति भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ। यी प्रदेशका केही पहाडी क्षेत्रमा अति भारी तथा तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले नदी–नाला आसपास, पहिरो जोखिमयुक्त क्षेत्र र शहरी डुबान हुन सक्ने स्थानमा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार