२०८३ भाद्र १३, शनिबार | Sat, 29, Aug, 2026

भोटेकोशी–त्रिशूली बाढीमा ५४७ जनाको मृत्यु, ९७७ बेपत्ता


१०६७ पाठक संख्या
  • २०८३ भाद्र १२, शुक्रबार मा प्रकाशित १८ घण्टा अघि
  • १२ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि हालसम्म ५४७ जनाको शव फेला परेको छ। बाढीमा परी ठूलो मानवीय क्षति भएको छ भने अझै ९७७ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

    नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बाढीपछि रसुवादेखि चितवनसम्मका विभिन्न जिल्लामा शव फेला परेका छन्। सबैभन्दा बढी चितवनमा २२१ शव भेटिएका छन्।

    जिल्लागत विवरणअनुसार रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, गोरखामा ४४, नवलपुरमा १३४, नवलपरासीमा २८ र तनहुँमा २९ शव फेला परेका छन्। बाढीले बगाएका तथा बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धार कार्य अझै जारी छ।

    प्राधिकरणका अनुसार सम्पर्कविहीन हुनेमा विभिन्न सुरक्षा निकाय तथा सरकारी कार्यालयका कर्मचारीसमेत छन्। प्रहरीतर्फ २८, नेपाली सेनातर्फ ४५, सशस्त्र प्रहरीतर्फ १३, भन्सार कार्यालयतर्फ १५ र अध्यागमन कार्यालयतर्फ ४ जना सम्पर्कविहीन छन्।

    त्यस्तै, रसुवा र नुवाकोटबाट मात्रै १६२ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। बाढीको प्रभावका कारण त्रिशूली तथा त्यससँग जोडिएका नदी किनारका विभिन्न क्षेत्रमा खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।

    यसैबीच, नेपाल प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १ हजार ४७३ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी आवश्यक राहत तथा सहयोग उपलब्ध गराउने कार्य भइरहेको प्रहरीले जनाएको छ।

    बाढीपछि नदीमा बगेर हराएका तथा सम्पर्कविहीन व्यक्तिको खोजीका लागि सुरक्षा निकायहरू परिचालन भइरहेका छन्। घटनाको मानवीय क्षति अझै बढ्न सक्ने सम्भावनाका बीच बेपत्ताको खोजीलाई तीव्र पारिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु