१२ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवागढी–केरुङ नाका हुँदै त्रिशूली करिडोरमा सञ्चालन हुने मालवाहक कन्टेनर व्यवसायमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण चार सयभन्दा बढी कन्टेनर ट्रक बेपत्ता भएको र तीसँगै चालक, सहचालक, मजदुर, व्यापारी तथा भन्सार एजेन्टसहित एक हजारभन्दा बढी व्यक्ति सम्पर्कविहीन भएको व्यवसायीहरूले बताएका छन्।
बाढी आउनुअघि दसैं, तिहार र तीजका लागि आवश्यक सामान लिन ठूलो संख्यामा कन्टेनर ट्रक रसुवागढी–केरुङ नाका पुगेका थिए। तर, अचानक आएको बाढी र पहिरोका कारण तीमध्ये ठूलो संख्यामा कन्टेनर ट्रकको अवस्था अज्ञात बनेको छ।
नेपाल ट्रक कन्टेनर ढुवानी सेवा (साविक नेपाल ट्रक कन्टेनर व्यवसायी संघ) का अध्यक्ष अर्जुनबहादुर सापकोटाका अनुसार संघमा मात्रै ९ सय ६६ वटा कन्टेनर ट्रक दर्ता छन्। बाढी आउनुअघि करिब १ सय ७५ वटा कन्टेनर सामान लिन केरुङतर्फ गएका थिए।
तीमध्ये ठूलो संख्यामा कन्टेनर र तिनमा कार्यरत चालक, सहचालक तथा स्वरोजगार मजदुर सम्पर्कविहीन भएको सापकोटाले बताए।
“चालक मात्रै चार सयभन्दा बढी हराएका छन्। सहचालक, व्यापारी, भन्सार एजेन्ट र अन्य व्यक्तिलाई समेत जोड्दा सम्पर्कविहीन हुनेको संख्या एक हजारभन्दा धेरै पुग्छ,” उनले भने।
उनका अनुसार रसुवा हुँदै चीनबाट सामान आयात गर्ने क्रममा केरुङ पुगेका कन्टेनर, चालक तथा अन्य व्यक्तिको वास्तविक अवस्था अझै यकिन हुन सकेको छैन। बाढी प्रभावित क्षेत्रमा नारायणी, बल्खु, पोखरा–गण्डकीलगायत विभिन्न यातायात संघसंस्थाका मालवाहक सवारीसाधनसमेत फसेकाले क्षतिको वास्तविक आकार अझै ठूलो हुन सक्ने व्यवसायीहरूको भनाइ छ।
कन्टेनर व्यवसायीहरूले मानवीय र भौतिक क्षतिको एउटा प्रमुख कारण भन्सार कार्यालय तथा बाटोमा रहेका चेकपोस्टको अव्यावहारिक कार्यप्रणाली भएको आरोप लगाएका छन्।
अध्यक्ष सापकोटाका अनुसार रसुवागढी भन्सारबाट आवश्यक प्रक्रिया पूरा गरेर निस्किएका कन्टेनरलाई समेत धुन्चेस्थित चेकपोस्टले निश्चित समयभित्र मात्रै सञ्चालन गर्न दिने व्यवस्था गरेको थियो। यसका कारण भन्सार प्रक्रिया पूरा गरेका दर्जनौं कन्टेनर गन्तव्यतर्फ जान नपाई सडक किनारमै रोकिएर बस्नुपर्ने अवस्था थियो।
“रसुवागढी भन्सारले गाडी पास गरेर पठाउँछ, तर धुन्चेस्थित निकुञ्जको चेकपोस्टले बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म मात्रै गाडी चल्न दिन्छ। भन्सार तिरेर निस्किएका ७०–८० वटा गाडीलाई हाइवे सडक किनारमा तीन–चार दिनसम्म लाइन लगाएर राख्न बाध्य पारियो,” सापकोटाले भने।
उनका अनुसार त्यसरी सडक किनारमा असुरक्षित रूपमा पार्किङ गरेर राखिएका कन्टेनरमध्ये कतिपयलाई पहिरो र बाढीले बगाएको हो।
यदि भन्सार प्रक्रिया पूरा गरेका कन्टेनरलाई समयमै गन्तव्यतर्फ जान दिइएको भए क्षति कम गर्न सकिने उनको दाबी छ।
“गाडी समयमै गन्तव्यमा पुग्न पाएको भए यति ठूलो क्षति नहुन सक्थ्यो,” उनले भने।
भोटेकोशी र त्रिशूली करिडोरअन्तर्गत नुवाकोटको बेत्रावती क्षेत्रमा मात्रै करिब ३० देखि ४० वटा कन्टेनर ट्रक नदीले बगाएको व्यवसायीहरूले बताएका छन्।
सापकोटाका अनुसार बेत्रावती क्षेत्रमा करिब १ सय १५ वटा कन्टेनर पार्किङ गरेर राखिएका थिए। बाढीको जोखिम बढेपछि केही व्यवसायीले जोखिम मोलेर कन्टेनर सुरक्षित स्थानतर्फ सार्न सफल भए पनि सबैलाई हटाउन सम्भव भएन।
“बेत्रावतीमा हाम्रै साथीहरूले जोखिम मोलेर धेरै कन्टेनर भगाउन भ्याउनुभयो। तर त्यहाँ पनि ३०–४० वटा गाडी बगेका छन्,” उनले भने।
बाढीको जोखिमबारे सचेत गराउँदा समेत केही सवारीसाधन र पर्यटक बसहरू जोखिम क्षेत्रमा रोकिराखिएको र तीमध्ये केही नदीमा खसेको उनले बताए।
केरुङतर्फ गएका तथा चिनियाँ भूभागमा रहेका कन्टेनरहरूको अवस्था अझै स्पष्ट हुन सकेको छैन। सडक अवरुद्ध, सञ्चार सम्पर्कमा समस्या तथा बाढी–पहिरोका कारण उद्धार र खोजी कार्य प्रभावित हुँदा वास्तविक क्षतिको विवरण संकलन गर्न कठिनाइ भइरहेको व्यवसायीहरूको भनाइ छ।
व्यवसायीहरूले बाढीमा बेपत्ता भएका चालक, सहचालक, मजदुर, व्यापारी तथा अन्य व्यक्तिको तत्काल खोजी र उद्धार गर्न सरकारसँग माग गरेका छन्।
उनीहरूले उद्धारसँगै बेपत्ता व्यक्तिको यथार्थ विवरण सार्वजनिक गर्न, क्षतिको तत्काल मूल्यांकन गर्न र विपद्का कारण संकटमा परेको कन्टेनर तथा यातायात व्यवसायलाई राहत तथा पुनःस्थापनाको विशेष प्याकेज ल्याउनसमेत सरकारसँग आग्रह गरेका छन्।
भोटेकोशीको बाढीले मानवीय क्षतिसँगै चीनसँगको व्यापारिक नाका जोड्ने प्रमुख ढुवानी प्रणालीमै गम्भीर असर पुर्याएपछि आयात–निर्यात तथा आपूर्ति शृंखलासमेत प्रभावित हुने जोखिम बढेको व्यवसायीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस