२०८३ अषाढ ३०, मंगलबार | Tue, 14, Jul, 2026

बागमतीमा जलसतह उच्च विन्दुमा, प्रशासनद्वारा तटीय बासिन्दालाई सचेत रहन आग्रह


१०१५ पाठक संख्या
  • २०८३ अषाढ २९, सोमबार मा प्रकाशित ११ घण्टा अघि
  • सर्लाही, असार २९ — सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा सोमबार यस वर्षकै सबैभन्दा ठूलो बाढी आएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत नुनथरस्थित पधेरादोभान जलमापन केन्द्रका अनुसार सोमबार दिउँसो १२ बजे नदीको जलसतह ३.९० मिटर पुगेको थियो, जुन यस वर्षको अहिलेसम्मकै उच्च मापन हो।

    यद्यपि, दिउँसोपछि वर्षा कम भएसँगै नदीको बहाव घट्न थालेको छ। जलमापन सहायक (गेज रिडर) राजु पाटा मगरका अनुसार अपराह्न ४ बजेसम्म जलसतह घटेर ३.३० मिटरमा झरेको थियो।

    हाल नदीको बहाव खतराको तहभन्दा तल रहे पनि काठमाडौंलगायत पहाडी क्षेत्रमा पुनः वर्षा भइरहेकाले बाढी फेरि बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले महेन्द्र राजमार्गदेखि दक्षिणतर्फका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

    सर्लाहीमा सोमबार दिउँसोदेखि वर्षा रोकिए पनि मौसम अझै बदली रहेको र पुनः वर्षा हुन सक्ने सम्भावना रहेको छ। वर्षासँगै केही दिनदेखि बढेको अत्यधिक गर्मीबाट भने स्थानीयले तत्काल राहत महसुस गरेका छन्।

    सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार सोमबार साँझसम्म जिल्लामा कतै पनि डुबान वा कटानको घटना भएको छैन। तर मौसम अझै प्रतिकूल रहेकाले सम्भावित विपद् व्यवस्थापनका लागि सबै सुरक्षा निकायलाई ‘अलर्ट’ अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो।

    उहाँका अनुसार बाढी तथा डुबानको अवस्था सिर्जना भए तत्काल उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तयारी अवस्थामा छन्। जिल्ला विपद् व्यवस्थापन समिति पनि आवश्यक स्रोत, साधन र सामग्रीसहित जुनसुकै बेला परिचालन हुन तयार रहेको प्रशासनले जनाएको छ।

    बागमती, लखन्देही र मनुष्मारा खोलामा बाढी आएसँगै सर्लाहीका बरहथवा, बसबरिया, धनकौल, रामनगर, बलरा, गोडैता, विष्णु तथा कौडेना लगायत दक्षिणवर्ती पालिकाहरूमा हरेक वर्ष कटान र डुबानको समस्या दोहोरिने गरेको छ। मनसुन सक्रिय भएसँगै सम्भावित बाढी र डुबानको जोखिम बढ्ने भएकाले स्थानीय बासिन्दामा पुनः चिन्ता बढ्न थालेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार