३० असार, धनकुटा । धनकुटाको प्रमुख दाहसंस्कार स्थल मुलघाटमा सोमबार तमोर नदीमा आएको आकस्मिक बाढीले नदी किनारमा जल्दै गरेको चिता बगाएपछि केही समय दाहसंस्कार कार्य प्रभावित भएको छ। घटनाले वर्षायाममा मुलघाटस्थित दाहसंस्कार स्थलको सुरक्षाप्रति पुनः गम्भीर प्रश्न उठाएको छ।
वर्षासँगै तमोर नदीको बहाव एक्कासी बढ्दा धनकुटा नगरपालिका–६ आत्माराकी गौरी रोक्काको दाहसंस्कार भइरहेको चिता बाढीले बगाएको हो। सुरुमा नदीको बहाव सामान्य देखिए पनि केहीबेरमै माथिल्लो क्षेत्रबाट ठूलो मात्रामा पानी आएपछि नदीको सतह ह्वात्तै बढेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
त्रिवेणी माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक पोख्रेलका अनुसार त्यसबेला मुलघाटमा चारवटा शवको दाहसंस्कार भइरहेको थियो। तीमध्ये करिब ७५ प्रतिशत जलेको एउटा चिता बाढीले बगाएर नदीको बीच भागतर्फ लगेको थियो।
‘नदीको बहाव सामान्य देखिएकै अवस्थामा चिता जलाइएको थियो। तर, केही समयमै माथिबाट ठूलो मात्रामा पानी आएपछि नदीको सतह अचानक बढ्यो र जल्दै गरेको चिता बगेर नदीको बीच भागमा पुग्यो,’ पोख्रेलले बताए।
उनका अनुसार अर्को एउटा चितालाई पनि बाढीको बहावले पल्टाएको थियो। त्यसपछि दाहसंस्कारमा सहभागीहरूले तत्काल शवलाई सुरक्षित स्थानमा सारेर नदीभन्दा माथिल्लो भागमा नयाँ चिता निर्माण गरी पुनः दाहसंस्कार सम्पन्न गरेका थिए।
धनकुटा नगरपालिका–९ स्थित तमोर नदी किनारको मुलघाट जिल्लाको प्रमुख दाहसंस्कार स्थल हो। विश्रान्ति मन्दिर नजिक रहेको यस स्थानमा दैनिकजसो दाहसंस्कार हुने गरे पनि वर्षायाममा नदीको बहाव बढ्दा जोखिम बढ्ने समस्या वर्षेनि दोहोरिने गरेको स्थानीय बताउँछन्।
स्थानीयका अनुसार दाहसंस्कार स्थल नजिक डिजेलबाट सञ्चालन हुने शवदाह गृह निर्माण गरिएको भए पनि केही वर्षअघिको बाढीले क्षति पुर्याएपछि त्यसको सञ्चालन बन्द भएको छ। त्यसयता शोकमा रहेका परिवारले समेत जोखिम मोलेर नदी किनारमै दाहसंस्कार गर्नुपर्ने बाध्यता कायम रहेको छ।
तमोर नदीमा आउने बाढीले विगतमा पनि मुलघाट क्षेत्र, विश्रान्ति मन्दिर आसपासका संरचनामा क्षति पुर्याउँदै आएको छ। सुरक्षित र स्थायी दाहसंस्कार स्थल निर्माणको माग पटक–पटक उठे पनि प्रभावकारी व्यवस्थापन हुन नसकेको स्थानीयको गुनासो छ।
वर्षायाम सुरु भएसँगै तमोर नदीको बहाव र जलसतह निरन्तर बढ्ने भएकाले तत्काल सुरक्षा व्यवस्था सुदृढ गर्नुका साथै दीर्घकालीन रूपमा सुरक्षित दाहसंस्कार स्थल निर्माण गर्न सम्बन्धित निकायले प्राथमिकता दिनुपर्ने स्थानीयको माग छ।
उक्त क्षेत्रमा सशस्त्र प्रहरी बल नं. ६ हेडक्वाटर छिन्ताङ गुल्मले बर्सेनि बाढी तथा डुबानजन्य घटनालाई लक्षित गर्दै अस्थायी बेस क्याम्प स्थापना गरी उद्धार टोली परिचालन गर्दै आएको छ। टोलीले विभिन्न समयमा नदीमा बगेका तथा डुबेका व्यक्तिको उद्धार गरेको भए पनि केही घटनामा मानिस बेपत्ता हुने तथा पछि शव फेला पर्ने घटनाहरू समेत हुँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस