२०८३ अषाढ ३०, मंगलबार | Tue, 14, Jul, 2026

अविरल वर्षाले भरतपुर जलमग्न, घरभित्रै पस्यो पानी


७०३ पाठक संख्या
  • २०८३ अषाढ ३०, मंगलबार मा प्रकाशित ३ घण्टा अघि
  • ३० असार, चितवन। अविरल वर्षापछि चितवनको भरतपुर महानगरपालिका–११ का विभिन्न बस्ती डुबानमा परेका छन्। गोर्खाली टोल, मृगकुञ्जलगायतका क्षेत्र जलमग्न हुँदा स्थानीयको जनजीवन प्रभावित भएको छ।

    सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा सडकमा घुँडासम्म पानी जमेको देखिन्छ। स्थानीयहरू कपडा समाल्दै पानीबीच हिँडडुल गर्न बाध्य भएका दृश्यहरू सार्वजनिक भएका छन्।

    डुबानका कारण धेरै घरभित्र पानी पसेपछि स्थानीयवासी थप समस्यामा परेका छन्। दैनिक जनजीवन अस्तव्यस्त बनेको छ भने घरायसी सामानसमेत क्षति हुने जोखिम बढेको स्थानीयले बताएका छन्।

    स्थानीयका अनुसार भरतपुरमा वर्षेनी दोहोरिने डुबानको मुख्य कारण पानी निकासको कमजोर व्यवस्था हो। साइफनहरू बन्द हुनु, जथाभावी प्लटिङका कारण कुलो पुरिनु, नालीको उचित व्यवस्थापन नगरी सडक निर्माण गर्नु तथा बनेका नालीसमेत नियमित सफा नगर्नुले वर्षाको पानी जम्ने समस्या झन् गम्भीर बनेको उनीहरूको भनाइ छ।

    भरतपुरका विभिन्न बस्तीमा हरेक वर्ष वर्षायाममा दोहोरिने डुबानको समस्याले दीर्घकालीन र व्यवस्थित पानी निकास प्रणाली निर्माणको आवश्यकता पुनः उजागर गरेको छ। स्थानीयले तत्काल डुबान नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न र दीर्घकालीन समाधानको व्यवस्था गर्न महानगरपालिकासँग माग गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार