२०८३ श्रावण १, शुक्रबार | Fri, 17, Jul, 2026

मण्डनदेउपुरमा शुक्रबार बिदा, तीन दिन कार्यालय बन्द हुँदा सेवाग्राहीलाई सास्ती


२०८१ पाठक संख्या
  • २०८३ श्रावण १, शुक्रबार मा प्रकाशित १९ घण्टा अघि
  • ३२ असार, काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकाले श्रावण सङ्क्रान्तिको अवसरमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेपछि नगरवासीबाट मिश्रित प्रतिक्रिया आएको छ। शुक्रबार श्रावण १ गते स्थानीय बिदा घोषणा गरिएकाले शनिबारको सार्वजनिक बिदा र आइतबार कार्यालय सञ्चालन नहुने अवस्थासँग जोडिँदा सेवाग्राहीले लगातार तीन दिन सेवा लिन नपाउने स्थिति बनेको हो।

    नगरपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार २०८३ सालको श्रावण सङ्क्रान्तिको अवसरमा नगरसभाको निर्णयबमोजिम श्रावण १ गते स्थानीय सार्वजनिक बिदा दिइएको हो। नगरसभाले स्थानीय पर्व तथा संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले नेपाल सरकारले तोकेको सार्वजनिक बिदाबाहेक थप पाँच दिन स्थानीय बिदा दिने निर्णय गरेको जनाएको छ।

    तर, यही निर्णय कार्यान्वयनको समय छनोटप्रति भने स्थानीयवासीले असन्तुष्टि जनाएका छन्। शुक्रबार बिदा दिँदा लगातार तीन दिन कार्यालय बन्द हुने भएकाले अत्यावश्यक प्रशासनिक सेवा, सिफारिस, सामाजिक सुरक्षा, राजस्व तथा अन्य कामका लागि नगरपालिका पुग्ने सेवाग्राही मर्कामा परेको उनीहरूको भनाइ छ।

    स्थानीयवासीहरूले पछिल्लो समय जनप्रतिनिधि र प्रशासनले कर्मचारीको सुविधालाई प्राथमिकता दिएको, सेवाग्राहीको सहजतालाई पर्याप्त ध्यान नदिएको आरोपसमेत लगाएका छन्। यस विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालको भूमिकाप्रति पनि केही स्थानीयले प्रश्न उठाएका छन्। उनीहरूले सेवाग्राहीको सुविधालाई केन्द्रमा राखेर निर्णय हुनुपर्नेमा प्रशासनको सुझावअनुसार कर्मचारीमैत्री निर्णय भएको आरोप लगाएका छन्। यद्यपि, यस विषयमा नगरपालिकाको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

    स्थानीय तह नागरिकलाई सहज र छिटो सेवा उपलब्ध गराउने निकाय भएकाले सार्वजनिक बिदा निर्धारण गर्दा स्थानीय संस्कृति संरक्षणसँगै सेवाग्राहीको सुविधालाई पनि समान रूपमा ध्यान दिनुपर्ने माग नगरवासीले गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार