२०८३ श्रावण ११, सोमबार | Mon, 27, Jul, 2026

प्रहरीको गोलिबाट एकको मृत्यु, आठ घाइते, पाँच बजार सिल


४३४३ पाठक संख्या
  • २०८३ श्रावण ११, सोमबार मा प्रकाशित २१ घण्टा अघि
  • ११ साउन, / सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएपछि स्थानीय प्रशासनले जिल्लाको दक्षिणी क्षेत्रका पाँच प्रमुख बजारमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

    सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले आइतबार मध्यराति सुरक्षा समितिको आकस्मिक बैठकपछि हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि सोमबार बिहान ७ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन्। कर्फ्यु अवधिमा हिँडडुल, भेला, जुलुस, सभा तथा अन्य सार्वजनिक गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

    प्रहरीका अनुसार आइतबार राति उत्पन्न भएको झडप नियन्त्रण गर्न बाध्य भएर गोली चलाउँदा देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो। घटनामा प्रहरीको गोली लागेर आठ जना प्रदर्शनकारी घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।

    घटनापछि सोमबार बिहान कप्तानगञ्ज क्षेत्र बाहिरबाट हेर्दा अवस्था सामान्य देखिए पनि पुनः अप्रिय घटना हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रशासनले सुरक्षा सतर्कता उच्च बनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायको थप परिचालन गरिएको छ।

    प्रशासनले कर्फ्युको सीमा पनि स्पष्ट रूपमा निर्धारण गरेको छ। हरिनगरा बजार क्षेत्रमा पूर्वतर्फ नूनिया टोल, पश्चिमतर्फ खुनिया धार, उत्तरतर्फ हरिनगर गाउँपालिका कार्यालय र दक्षिणतर्फ बसन्तपुर मोडसम्म कर्फ्यु लागू गरिएको छ।

    यस्तै, भुटाहा बजार क्षेत्रमा पूर्वतर्फ मोरीया धार खोला, पश्चिमतर्फ इदगाहा फिल्ड, उत्तरतर्फ सुनसरी खोला र दक्षिणतर्फ हरिनगर गाउँपालिका कार्यालयसम्म कर्फ्यु कायम गरिएको छ।

    कप्तानगञ्ज बजार क्षेत्रमा पूर्वतर्फ यादव टोल, पश्चिमतर्फ पाँचौं सिमल माध्यमिक विद्यालय, उत्तरतर्फ कृष्ण माध्यमिक विद्यालय र दक्षिणतर्फ नेपाल–भारत सीमा क्षेत्रसम्म कर्फ्यु लागू गरिएको प्रशासनले जनाएको छ।

    घुस्की बजार क्षेत्रमा पूर्वतर्फ कासमिया मदरसा, पश्चिमतर्फ प्रहरी चौकी घुस्की, उत्तरतर्फ इशा हार्डवेयर र दक्षिणतर्फ हिलाल पब्लिक स्कुलसम्म तथा देवानगञ्ज बजार क्षेत्रमा पूर्वतर्फ विराटनगर जाने सडकको मुसहर टोल, पश्चिमतर्फ मोरीया खोला, उत्तरतर्फ चिउरा मिल र दक्षिणतर्फ गाउँपालिका कार्यालयसम्म कर्फ्यु आदेश लागू गरिएको छ।

    प्रारम्भिक जानकारीअनुसार आइतबार राति युवाहरूको एक समूह डिजे बजाउँदै साउने सोमबारको बोलबम यात्राका लागि सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो। त्यसक्रममा अर्को समूहले रातिको समयमा अत्यधिक होहल्ला भएको भन्दै विरोध जनाएपछि दुवै पक्षबीच भनाभन सुरु भएको थियो। विवाद विस्तारै झडपमा परिणत हुँदै हिंसात्मक बनेपछि स्थिति नियन्त्रणबाहिर गएको र त्यसपछि प्रहरीले बल प्रयोग गर्दै गोली चलाएको जनाएको छ।

    घटनापछि आइतबार राति करिब १२ बजे जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसेको थियो। त्यसलगत्तै प्रमुख जिल्ला अधिकारी घिमिरेले सोमबार बिहान ७ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका हुन्। साथै, स्थानीय प्रशासनले हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका क्षेत्रभर निषेधाज्ञा समेत जारी गरेको छ।

    घटनाको वास्तविक कारण, प्रहरीबाट भएको बल प्रयोगको अवस्था तथा गोली चलाउनुपर्ने परिस्थिति सम्बन्धमा अनुसन्धान सुरु गरिएको प्रशासनले जनाएको छ। जिल्लाको दक्षिणी क्षेत्रमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ भने स्थानीयलाई अफवाहमा विश्वास नगर्न र प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार