काठमाडौं, साउन ११ गते। सुनसरीको देवानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले प्रशासन र सुरक्षा संयन्त्रमा व्यापक हेरफेर गरेको छ। घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीलाई फिर्ता बोलाएको हो।
गृह मन्त्रालयले सीडीओ घिमिरेलाई मन्त्रालयमा तानेर उनको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई सुनसरी पठाउने निर्णय गरेको छ।
त्यसैगरी, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं फिर्ता बोलाइएको छ। उनको स्थानमा प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी दिइएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सरुवा गरिएको छ। उनको स्थानमा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाइने भएको छ।
यस्तै, सशस्त्र प्रहरी बल नेपाल, कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ। उनको स्थानमा प्रधान कार्यालय, काठमाडौंमा कार्यरत डीएसपी मदन नाथलाई खटाउने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।
आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा स्थिति तनावग्रस्त बनेको थियो। उक्त घटनामा एक जनाको मृत्यु भएको थियो भने २४ जना घाइते भएका थिए। घाइतेमध्ये ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी रहेका छन्।
घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरिसकेको छ। समितिलाई एक साताभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ।
घटनापछि थप तनाव र अप्रिय अवस्था सिर्जना हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आइतबार बिहान ७ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
गृह मन्त्रालयको यो निर्णयलाई सुनसरी घटनाको निष्पक्ष अनुसन्धान, सुरक्षा व्यवस्थाको पुनर्संरचना र स्थानीय क्षेत्रमा शान्ति–सुरक्षा कायम गर्ने प्रयासका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस