२०८३ श्रावण १९, मंगलबार | Tue, 04, Aug, 2026

हरियालीमा झल्कियो नेपाल–जापान मित्रता, ७०औँ वार्षिकोत्सवमा सालक पार्कमा वृक्षारोपण


१२७५ पाठक संख्या
  • २०८३ श्रावण १८, सोमबार मा प्रकाशित १ दिन अघि
  • धादिङ,। नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा धादिङको धुनिबेशी नगरपालिकास्थित बनदेवी सामुदायिक वनको सालक पार्कमा विशेष वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। वातावरण संरक्षणमार्फत दुई देशबीचको मैत्री सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ आयोजित कार्यक्रममा जापानका लागि नेपालस्थित राजदूत माएदा तोरुको प्रमुख आतिथ्यता रहेको थियो।

    प्यारो हरियो नेपाल र धुनिबेशी नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यको सभापतित्व रहेको थियो। कार्यक्रममा जापानी दूतावासको प्रतिनिधिमण्डल, जापानी तथा नेपाली पाहुना, स्थानीय जनप्रतिनिधि, वन उपभोक्ता तथा वातावरण संरक्षणसँग सम्बन्धित विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत माएदाले नेपाल र जापानबीच सात दशकदेखि कायम रहेको घनिष्ठ मैत्री सम्बन्धलाई वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा दिगो विकासका साझा अभियानले अझ मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले जलवायु परिवर्तनका चुनौती सामना गर्न यस्ता सहकार्यहरू भविष्यमा अझ प्रभावकारी हुने बताए।

    औपचारिक कार्यक्रमपछि राजदूत माएदा, जापानी दूतावासको टोली, धुनिबेशी नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी, प्यारो हरियो नेपालका पदाधिकारी र कर्मचारी तथा बनदेवी सामुदायिक वनका सदस्यहरूले संयुक्त रूपमा सालक पार्क परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपेका थिए।

    वृक्षारोपण सम्पन्न भएपछि राजदूत माएदाले धुनिबेशी नगरपालिकाको कार्यालयको समेत अवलोकन गरेका थिए। सो क्रममा वातावरणीय सहकार्य विस्तार, दिगो विकासका सम्भावना, स्थानीय तहसँग जापानको सहकार्य तथा नेपाल–जापान मित्रतालाई थप उचाइमा पुर्‍याउने विषयमा छलफल भएको जनाइएको छ।

    कार्यक्रमको दोस्रो सत्रमा नेपाल–जापान सम्बन्धको सांस्कृतिक र प्राकृतिक आयामलाई उजागर गर्दै नेपालका राष्ट्रिय फूल पैयूँ र जापानको प्रतीकात्मक साकुरा फूलको सान्दर्भिकताबारे विशेष प्रस्तुति तथा अन्तरक्रिया गरिएको थियो। सहभागीहरूले दुवै देशबीचको मित्रतालाई प्रकृति, संस्कृति र दिगो विकाससँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

    आयोजकका अनुसार वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै नेपाल–जापानबीचको सात दशक लामो मैत्री सम्बन्धलाई हरियाली र दिगोपनको साझा सन्देशमार्फत थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार