२०८३ भाद्र १४, आईतबार | Sun, 30, Aug, 2026

त्रिशूली उर्लिएपछि काठमाडौं–मुग्लिन सडकमा संकट


१०१५ पाठक संख्या
  • २०८३ भाद्र १४, आईतबार मा प्रकाशित ३ घण्टा अघि
  • १४ भदौ, काठमाडौं । त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि काठमाडौं–मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। बाढीका कारण सडकको केही भाग भासिएपछि यातायात सञ्चालन ठप्प भएको हो।

    भोटेकोशी हुँदै आएको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव अत्यधिक बढेपछि सडकको तल्लो भाग कटान भएको धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले जानकारी दिइन्। उनका अनुसार बाढीले सडकको आधार भाग कटान गरेपछि सडक केही भासिएको छ र तत्कालका लागि यातायात सञ्चालन गर्न सकिने अवस्था छैन।

    बाढीको बहाव बढेसँगै सडक जोखिमपूर्ण बनेपछि सुरक्षाका दृष्टिले समेत यातायात सञ्चालनमा रोक लगाइएको छ। यसअघि आज बिहान केही समय सडक अवरुद्ध भए पनि पानीको बहाव केही घटेपछि यातायात सञ्चालनमा आएको थियो। तर, केही समयमै पुनः बाढीको कटान बढेपछि सडक पूर्णरूपमा बन्द भएको हो।

    सडक अवरुद्ध भएपछि काठमाडौं र मुग्लिनतर्फ आवतजावत गर्ने सयौँ यात्रु तथा सवारीसाधन बाटोमै रोकिएका छन्। लामो दूरीका यात्रुहरू अलपत्र परेका छन् भने सडक खुल्ने प्रतीक्षामा सवारीसाधनको चापसमेत बढ्दै गएको छ।

    लगातारको बाढी र कटानका कारण सडकको अवस्था थप जोखिमपूर्ण बन्दै गएको स्थानीय प्रशासनले जनाएको छ। नदीमा पानीको बहाव अझै उच्च रहेकाले सडक खुलाउन तत्काल कठिनाइ हुन सक्ने बताइएको छ।

    सडक अवरुद्ध भएपछि यात्रु तथा चालकलाई जोखिमपूर्ण स्थानमा नजान र सुरक्षित स्थानमा रहन स्थानीय प्रशासनले आग्रह गरेको छ। सडक खुलाउने तथा क्षतिको अवस्थाबारे प्राविधिक मूल्याङ्कन गरी आवश्यक प्रक्रिया अघि बढाइने जनाइएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु