१२ भदौ, काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा हिमपहिरोपछि बनेको तालमा पानीको सतह बढ्दै गएपछि थप क्षतिको जोखिम बढेको छ। नेपालस्थित चिनियाँ दूतावासले सीमा क्षेत्रमा सिर्जित जोखिम अझै कायम रहेको जनाउँदै दुवै देशका सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
शुक्रबार विज्ञप्ति जारी गर्दै चिनियाँ दूतावासका प्रवक्ताले चीन र नेपालका अधिकारीहरूले घटनास्थलको अवस्थालाई निरन्तर निगरानी गरिरहेको जानकारी दिएका छन्।
दूतावासका अनुसार पछिल्ला दिनमा चीन–नेपाल सीमा नदीको माथिल्लो क्षेत्रमा, नेपालको भूभागतर्फ पर्ने एक सहायक नदीमा हिम–चट्टानसहितको पहिरो गएको थियो। पहिरोले नदीको बहाव थुनेपछि सीमा नदीसँग जोडिने गरी ठूलो ताल बनेको हो।
पहिरोले बनेको उक्त तालमा अहिले पानीको सतह उच्च रहेको र पानी ओभरफ्लो हुन थालेकाले थप क्षति निम्तिन सक्ने जोखिम बढेको दूतावासले जनाएको छ।
दूतावासले नेपाल र चीन दुवैका लागि उद्धार तथा आपत्कालीन प्रतिकार्यका दृष्टिले अवस्था अत्यन्त संवेदनशील रहेको उल्लेख गरेको छ। तालभन्दा तलतर्फ रहेका स्थानीय बासिन्दा तथा सम्बन्धित कर्मचारीलाई नदीको पानीको सतहमा भइरहेको परिवर्तनलाई नजिकबाट निगरानी गर्न र उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
सम्भावित जोखिम न्यूनीकरण तथा आपत्कालीन अवस्था उत्पन्न भए तत्काल प्रतिकार्य गर्न आवश्यक पूर्वतयारी अवस्थामा रहनसमेत दूतावासले सम्बन्धित पक्षलाई आग्रह गरेको छ।
चीन र नेपालका सम्बन्धित निकायहरूले घटनाको निरन्तर अनुगमन गरिरहेको जनाउँदै दूतावासले जोखिमको अवस्थाबारे आवश्यक समन्वय र सूचनाको आदानप्रदान भइरहेको जनाएको छ।
यसैबीच, दूतावासले सर्वसाधारणलाई घटनासम्बन्धी जानकारीका लागि आधिकारिक तथा विश्वसनीय स्रोतबाट प्राप्त सूचनामात्रै अनुसरण गर्न आग्रह गरेको छ। अपुष्ट सूचना तथा हल्ला फैलाउँदा अनावश्यक त्रास सिर्जना हुन सक्ने भन्दै त्यस्ता गतिविधिबाट जोगिनसमेत अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस