२०८३ भाद्र १६, मंगलबार | Tue, 01, Sep, 2026

भोटेकोशी पीडित परिवारलाई पाँचखालको एक लाख


२४१९ पाठक संख्या
  • २०८३ भाद्र १५, सोमबार मा प्रकाशित १६ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको पीडामा मल्हम लगाउँदै काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले मानवीय सहयोगको हात अघि बढाएको छ। नगरपालिकाले बाढीका कारण ज्यान गुमाएका तथा बेपत्ता भएका नगरवासीका परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

    भाद्र १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि पाँचखाल नगरपालिकाले विपत्तिमा आफ्ना नागरिक गुमाएका परिवारलाई राहतस्वरूप उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।

    पाँचखाल नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्याण सुवेदीका अनुसार नगरभित्र स्थायी बसोबास गर्ने नागरिक बाढीका कारण मृत्यु वा बेपत्ता भएको अवस्थामा सम्बन्धित परिवारलाई जीविकोपार्जनमा केही सहजता होस् भन्ने उद्देश्यले एक लाख रुपैयाँ उपलब्ध गराउन लागिएको हो।

    उनका अनुसार बाढीका कारण आफन्त गुमाएका परिवार अहिले गहिरो शोक र पीडामा छन्। यस्तो कठिन अवस्थामा नगरपालिकाको तर्फबाट तत्कालीन राहतस्वरूप आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको हो।

    नगर प्रमुख महेश खरेलको नेतृत्वमा बसेको नगर कार्यपालिकाको बैठकले मृतक तथा बेपत्ताका परिवारलाई एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो। साथै बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएका नागरिकको थप पहिचान र विवरण संकलनका लागि नगरपालिकाले आवश्यक पहल अघि बढाएको छ।

    नगरपालिकाले बाढी प्रभावित परिवार तथा सम्बन्धित सरोकारवालालाई मृतक र बेपत्ताको विवरण उपलब्ध गराउन आग्रह गर्दै सार्वजनिक सूचना समेत जारी गरेको छ।

    कृषि उर्वर भूमिका रूपमा परिचित पाँचखालले प्राकृतिक विपत्तिमा आफ्ना नागरिकको दुःखमा साथ दिने निर्णय गरेसँगै बाढीपीडित परिवारलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ। विपत्तिले खोसेको जीवन फर्काउन नसकिए पनि दुःखको घडीमा स्थानीय सरकारको साथले पीडित परिवारलाई आफूहरू एक्लो नभएको अनुभूति दिलाउने विश्वास गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु