२०८३ भाद्र २८, आईतबार | Sun, 13, Sep, 2026

सहकारीका कमजोरी सच्याउन सञ्चारमाध्यमको सुझाव स्वीकार्छौँ : अध्यक्ष श्रेष्ठ


१२२३ पाठक संख्या
  • २०८३ भाद्र २७, शनिबार मा प्रकाशित १५ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । जिल्ला सहकारी संघ लिमिटेड, काभ्रेले सहकारी क्षेत्रलाई थप पारदर्शी, जवाफदेही, सुशासित र व्यवस्थित बनाउन सञ्चारमाध्यमसँगको सहकार्य र समन्वयलाई प्राथमिकताका साथ अघि बढाउने भएको छ। सहकारी क्षेत्रमा देखिएका चुनौती, समस्या र सुधारका विषयमा सञ्चारकर्मीसँग निरन्तर संवाद गर्दै रचनात्मक सुझावलाई आत्मसात् गरेर अघि बढ्ने संघले प्रतिबद्धता जनाएको छ।

    संघको आयोजनामा शनिबार जिल्लाका सञ्चारकर्मीसँग आयोजित अन्तरक्रिया कार्यक्रममा संघका अध्यक्ष अमन पोटे श्रेष्ठले सञ्चारमाध्यमबाट प्राप्त सुझाव, आलोचना र खबरदारीलाई सकारात्मक रूपमा ग्रहण गर्दै संस्थाका गतिविधिलाई अझ प्रभावकारी बनाइने बताउनुभयो।

    उहाँले सञ्चारकर्मी र सहकारीकर्मीबीच अनुभव आदानप्रदानका लागि आवश्यक तालिम सञ्चालन गर्ने, असल शासनका अभ्यासहरू साझा गर्ने तथा संघका कामकारबाहीलाई थप पारदर्शी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। संस्थाको कामकारबाहीमा कमजोरी वा गल्ती देखिएमा सञ्चारमाध्यम र सरोकारवालाबाट प्राप्त सुझावका आधारमा सुधार गर्दै अघि बढ्ने उहाँको भनाइ थियो।

    कार्यक्रममा संघका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले जिल्ला सहकारी संघका हालसम्मका गतिविधि, उपलब्धि र आगामी योजनाबारे प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँका अनुसार काभ्रेपलाञ्चोक जिल्लामा हाल ६४६ वटा सहकारी संस्था सञ्चालनमा रहेका छन् भने तीमध्ये ५८५ वटा सहकारी जिल्ला सहकारी संघमा आबद्ध छन्। जिल्लाका सबै १३ वटै स्थानीय तहमा सहकारी संस्थाको उपस्थिति रहेको उहाँले जानकारी दिनुभयो।

    प्रस्तुतीकरणका क्रममा बनेपा नगरपालिकामा सबैभन्दा बढी २०१ वटा सहकारी संस्था सञ्चालनमा रहेको जानकारी दिइएको थियो। संघले पछिल्लो समय ऋण लगानी तथा बचतसम्बन्धी कार्य रोकिसकेको र सञ्चालनमा रहेका सेवा केन्द्रहरू पनि क्रमशः बन्द गर्दै लगिएको श्रेष्ठले बताउनुभयो।

    कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष शान्ति लामा वाइवाले अन्तरक्रियाको उद्देश्यबारे जानकारी गराउँदै सहभागी सञ्चारकर्मीलाई स्वागत गर्नुभएको थियो। कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष अमन पोटे श्रेष्ठले गर्नुभएको थियो।

    अन्तरक्रियामा सहभागी सञ्चारकर्मीहरूले सहकारी क्षेत्रको पारदर्शिता, सुशासन, सदस्यका अधिकार, संस्थाहरूको वर्तमान अवस्था, सहकारीमा देखिएका समस्या तथा सञ्चारमाध्यमसँगको सम्बन्धका विषयमा प्रश्न, जिज्ञासा र सुझाव राखेका थिए।

    नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष ईश्वरी ओझाले जिल्ला सहकारी संघले गरेका काम सकारात्मक रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्न शुभकामना दिनुभयो।

    महासंघका पूर्व अध्यक्ष मोतीराम तिमल्सिनाले काभ्रे जिल्लाले नेपालको सहकारी अभियानको विकासमा पुर्‍याएको ऐतिहासिक योगदानलाई बिर्सन नहुने बताउनुभयो। पछिल्लो समय जिल्लामा समेत सहकारी ठगीका घटना देखिन थालेको उल्लेख गर्दै उहाँले यस विषयमा सहकारीकर्मी, सञ्चारमाध्यम र सरोकारवाला सबै पक्ष सजग हुनुपर्नेमा जोड दिनुभयो।

    सहकारी क्षेत्रका सकारात्मक गतिविधिसँगै ठगी, अनियमितता र कमजोरीका विषयमा पनि सञ्चारकर्मीहरूले तथ्यपरक तथा खोजमूलक समाचारलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो। सहकारी क्षेत्रलाई दीर्घकालीन रूपमा व्यवस्थित र विश्वसनीय बनाउन नीतिगत सुधारसमेत आवश्यक रहेको उहाँले औँल्याउनुभयो।

    महासंघका अर्का पूर्व अध्यक्ष महेश पौडेलले सहकारी र सञ्चार क्षेत्रबीचको अन्तरक्रियाले दुवै पक्षलाई एक–अर्काका गतिविधि, समस्या र चुनौती बुझ्न सहयोग पुग्ने धारणा राख्दै कार्यक्रमको सफलताको शुभकामना दिनुभयो।

    नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपानेले जिल्ला सहकारी संघले गर्दै आएका सकारात्मक गतिविधिलाई महासंघले सञ्चारमाध्यममार्फत निरन्तर प्रवाह गर्दै आएको उल्लेख गर्नुभयो। आगामी दिनमा पनि सहकारी क्षेत्रका सकारात्मक र जनहितका गतिविधिलाई सञ्चारमाध्यममार्फत प्राथमिकताका साथ उजागर गर्न महासंघको सहयोग र सहकार्य रहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।

    अन्तरक्रियामा सहभागी सञ्चारकर्मीहरूले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान, सुशासन प्रवर्द्धन र सदस्यको हित संरक्षणका लागि सहकारी संघ, सञ्चारमाध्यम र सम्बन्धित सरोकारवाला निकायबीच निरन्तर संवाद र प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका थिए।

    कार्यक्रमले सहकारीका सकारात्मक गतिविधिलाई प्रवर्द्धन गर्ने मात्र होइन, समस्या, अनियमितता र कमजोरीका विषयमा तथ्यपरक तथा खोजमूलक समाचारमार्फत सञ्चारमाध्यमले प्रभावकारी खबरदारी गर्नुपर्ने भूमिकालाई समेत थप स्पष्ट बनाएको सहभागीहरूको धारणा थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु