२०८३ आश्विन २२, बिहिबार | Thu, 08, Oct, 2026

कांग्रेसमा महिला महामन्त्रीको घम्साघम्सी


१४५७ पाठक संख्या
  • २०८३ आश्विन २०, मंगलबार मा प्रकाशित १ दिन अघि
  • २० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदको महिला कोटातर्फ तीन महिला नेतृबीच प्रतिस्पर्धा हुने भएको छ।

    कांग्रेसले संशोधित विधानमार्फत पहिलोपटक महामन्त्रीका तीनमध्ये एक पद महिलाका लागि सुनिश्चित गरेपछि त्यस पदमा सहमहामन्त्री डा. डिला संग्रौला, पूर्वसहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र महिला नेतृ रिता खनालले उम्मेदवारी दर्ता गराएका छन्।

    १४औँ महाधिवेशनमा ‘महिला क्लस्टर’बाट सहमहामन्त्री निर्वाचित भएकी डिना र त्यतिबेला सहमहामन्त्रीको आकांक्षा राखेकी संग्रौला यसपटक एउटै पदका लागि आमनेसामने भएका छन्। १४औँ महाधिवेशनमा दुवै नेतृ तत्कालीन सभापति शेरबहादुर देउवा समूहमा थिए। डिना सहमहामन्त्रीमा निर्वाचित हुँदा संग्रौला केन्द्रीय सदस्यमा विजयी भएकी थिइन्।

    गत पुसमा सम्पन्न दोस्रो विशेष महाधिवेशनका क्रममा संग्रौला नेतृत्व चयनको प्रक्रियामा सक्रिय भइन् र महिला क्लस्टरबाट सहमहामन्त्री बनिन्। यता, १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा डिना संस्थापन पक्षमा प्रवेश गरेकी छन्।

    यसरी १४औँ महाधिवेशनमा एउटै समूहमा रहेका दुई नेतृ यसपटक महामन्त्री पदका लागि प्रतिस्पर्धी बनेका छन्।

    उनीहरूसँगै रिता खनालले पनि महिला महामन्त्रीका लागि उम्मेदवारी दिएकी छन्। पूर्वसभापति देउवाको कार्यकालमा कांग्रेसको सक्रिय राजनीति छाडेकी खनाल दोस्रो विशेष महाधिवेशनसँगै पुनः कांग्रेसमा फर्किएकी हुन्। उनी मकवानपुरकी हुन्।

    महिला महामन्त्रीका उम्मेदवार डिना १४औँ महाधिवेशनमा मकवानपुर–१ बाट उम्मेदवार बनेकी थिइन् भने संग्रौला मोरङ–६ की हुन्। महिला महामन्त्री पदमा तीन नेतृबीचको प्रतिस्पर्धालाई कांग्रेसको नयाँ विधान कार्यान्वयनसँगै महिला नेतृत्वको प्रतिनिधित्व र प्रभावका दृष्टिले समेत महत्त्वपूर्ण रूपमा हेरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑