२१ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन् ।
मंगलबार साँझ कांग्रेस सभापतिका उम्मेदवार गगन थापासँग भएको भेटवार्तापछि रिजाल उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेका हुन् । उनले थापासँगको भेटमा भएको कुराकानीको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
भेटका क्रममा रिजालले कांग्रेसलाई पुनः आफ्नै वैचारिक पहिचान र मूल चरित्रमा फर्काउने आकांक्षा रहेको बताए । उनले त्यसका लागि थापाको यात्रामा साथ दिने प्रतिबद्धता जनाउँदै अब आफू कुनै पदका लागि प्रतिस्पर्धा नगर्ने स्पष्ट पारे ।
रिजालले भने, ‘आकांक्षा एउटै छ—कांग्रेस फेरि कांग्रेस बनोस् । कांग्रेसको आफ्नो हार्ट र सोल फेरि प्राप्त होस् । त्यो काममा तिमी (गगन) लाई सहयोग गर्छु । तिमीले नै भनिसकेपछि मैले कुनै पदमा लड्छु भन्ने अर्थ छैन । त्यसकारण पद खोजिरहने त्यो यात्रा टुंगियो ।’
उनले आफ्नो उम्मेदवारी औपचारिक रूपमा फिर्ता लिने पनि बताएका छन् । रिजालले आज निर्वाचन समितिसमक्ष उपसभापति पदको उम्मेदवारी फिर्ता लिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस