२०८३ कार्तिक ९, आईतबार | Sun, 25, Oct, 2026

विद्युत् तारको करेन्ट लागेर ६५ वर्षीय वृद्धको मृत्यु


३२२५ पाठक संख्या
  • २०८३ कार्तिक ९, आईतबार मा प्रकाशित ३ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । भारतको मध्य प्रदेशस्थित विदिशा जिल्लामा बार्दलीबाट गुट्खा थुक्ने क्रममा ११ हजार भोल्ट क्षमताको विद्युत् तारको सम्पर्कमा आउँदा एक वृद्धको मृत्यु भएको छ।

    भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार गन्ज बासोदास्थित गायत्री नगरमा शुक्रबार उक्त घटना भएको हो। भाडाको घरको तेस्रो तलाको बार्दलीबाट गुट्खा थुक्ने क्रममा ६५ वर्षीय प्रभु लाल गुप्ता नजिकैबाट गएको उच्च भोल्टेजको विद्युत् तारको सम्पर्कमा पुगेका थिए। करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो।

    घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। छतरपुरका स्थायी बासिन्दा गुप्ता विगत १० वर्षदेखि गन्ज बासोदामा भाडाको घरमा बस्दै आएका थिए। उनी पेसाले मेकानिक थिए।

    घटनापछि स्थानीय बासिन्दाले विद्युत् विभागको लापरबाहीप्रति आक्रोश व्यक्त गरेका छन्। आवासीय घरनजिकैबाट उच्च क्षमताको विद्युत् प्रसारण लाइन गएको र त्यसलाई हटाउन पटक–पटक आग्रह गर्दा पनि सम्बन्धित निकायले बेवास्ता गरेको उनीहरूको आरोप छ।

    घटना भएको घरकी घरधनी पद्मा चिधरले घरनजिकै रहेको हाइटेन्सन लाइन हटाउन विद्युत् कम्पनीका अधिकारीहरूलाई पटक–पटक निवेदन दिएको बताएकी छन्। अधिकारीहरूले तार चाँडै हटाउने आश्वासन दिए पनि लामो समयसम्म कुनै ठोस कदम नचालिएको उनको भनाइ छ।

    स्थानीयका अनुसार आवासीय क्षेत्रमा घरसँगै टाँसिएर ११ केभीका विद्युत् लाइनहरू जाने गरेका छन्। यस्ता जोखिमपूर्ण लाइनको व्यवस्थापन, नियमित मर्मतसम्भार र सुरक्षाका उपाय अपनाउन पटक–पटक उजुरी गर्दा पनि सम्बन्धित निकायले बेवास्ता गर्दै आएको उनीहरूको आरोप छ।

    यस घटनाले आवासीय क्षेत्रनजिक रहेका उच्च भोल्टेजका विद्युत् लाइनको सुरक्षित व्यवस्थापन र सम्बन्धित निकायको जवाफदेहितामाथि पुनः प्रश्न उठाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑