गुल्मी, ९ कात्तिक । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कारपियो सोमबार दिउँसो करिब ४ बजे कालीगण्डकी करिडोर सडकखण्डबाट करिब २५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनामा मृत्यु हुनेमा स्कारपियो चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलिपकुमार बागले, वालिङ–१० का शिव पराजुली तथा गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका लोकनाथ पाण्डे, सीता पाण्डे र कुलानन्द पाण्डे रहेका छन्। घटनास्थलमै मृत्यु भएका अर्का एक जनाको विवरण पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, दुर्घटनामा घाइते भएकी निता बगालेको स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका छविलाल पाण्डेको अवस्था गम्भीर रहेको छ भने गोमता पाण्डे र बालकृष्ण सुवेदीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाको खबर पाएलगत्तै प्रहरी चौकी पुर्तिघाट, इलाका प्रहरी कार्यालय रिडी र जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी टोली उद्धारका लागि घटनास्थल पुगेको थियो।
प्रहरी निरीक्षक सुदीप नेपालीका अनुसार दुर्घटनाबारे थप विवरण संकलन भइरहेको छ। मृतक तथा घाइतेहरूको विवरणसमेत पुष्टि गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस