२०८३ कार्तिक १३, बिहिबार | Thu, 29, Oct, 2026

चक्रवाती आँधी ‘अर्नब’को सम्भावित प्रभाव : उडानदेखि विमानस्थलसम्म सतर्कता


१३५३ पाठक संख्या
  • २०८३ कार्तिक १३, बिहिबार मा प्रकाशित ४ घण्टा अघि
  • काठमाडौं, १२ कात्तिक । भारतको आन्ध्र प्रदेश तथा विशाखापट्नम आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’को सम्भावित प्रभावलाई मध्यनजर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षामा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ ।

    प्राधिकरणले २८ अक्टोबर (११ कात्तिक) मा सुरक्षा परिपत्र जारी गर्दै हवाई सेवा प्रदायक, विमानस्थल सञ्चालक, वायुसेवा कम्पनी तथा सम्बन्धित निकायलाई प्रतिकूल मौसमबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न आग्रह गरेको हो ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले नेपालका विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षा, चट्याङसहितको हुरीबतास, तीव्र हावाहुरी तथा हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना छ । यसको प्रभाव विशेषगरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पर्ने अनुमान गरिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा समेत यसको असर देखिन सक्ने जनाइएको छ ।

    बिहीबार (१२ कात्तिक) देखि शनिबार (१४ कात्तिक) सम्म प्रतिकूल मौसमको सम्भावना रहेकाले हवाई उडान तथा अवतरण, विमानस्थल सञ्चालन र धावनमार्गको अवस्थालाई विशेष ध्यान दिन प्राधिकरणले निर्देशन दिएको छ । भारी वर्षा, तीव्र हावाहुरी र कम दृश्यताका कारण उडान सञ्चालनमा अवरोध आउन सक्ने तथा विमानस्थलको सुरक्षामा जोखिम बढ्न सक्ने प्राधिकरणको आकलन छ ।

    उडान व्यवस्थापनदेखि वैकल्पिक योजनासम्म सतर्कता

    प्राधिकरणले हवाई ट्राफिक व्यवस्थापन गर्ने निकायलाई प्रतिकूल मौसममा उडान सञ्चालनको उचित योजना बनाउन तथा आवश्यकताअनुसार अन्य हवाई सेवा इकाइसँग समन्वय गर्न भनेको छ । मौसमका कारण निर्धारित सञ्चालन सीमाभन्दा अवस्था प्रतिकूल भए उडान मार्ग परिवर्तन गर्ने, विमानलाई आकाशमै केही समय होल्डिङमा राख्ने वा अन्य आवश्यक व्यवस्थापनका उपाय अपनाउन निर्देशन दिइएको छ ।

    भारी वर्षा तथा प्रतिकूल मौसमी अवस्थाले उडान सुरक्षामा असर पार्न सक्ने भएकाले हवाई ट्राफिक नियन्त्रकलाई विमानबीच आवश्यक दूरी कायम गर्न पनि भनिएको छ । हावाको गति र दिशामा अचानक परिवर्तन हुने अवस्था (विन्ड सियर), वायुमण्डलीय अस्थिरता तथा चट्याङयुक्त हुरीबताससम्बन्धी सूचना उडान भर्ने र अवतरण गर्ने विमानका चालक दललाई तत्काल उपलब्ध गराउनुपर्ने परिपत्रमा उल्लेख छ ।

    धावनमार्ग र विमानस्थलका उपकरणमा विशेष निगरानी

    प्राधिकरणले भारी वर्षाका कारण धावनमार्गमा पानी जम्ने, सतह चिप्लिने तथा विमानको ब्रेकिङ क्षमतामा कमी आउन सक्ने जोखिमप्रति सचेत गराएको छ । त्यसैले धावनमार्गको अवस्था नियमित निरीक्षण गर्न र आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

    विमानस्थल सञ्चालन, सिभिल इन्जिनियरिङ तथा एयरसाइड विभागबीच निरन्तर समन्वय कायम गर्न पनि प्राधिकरणले जोड दिएको छ । तीव्र हावाले उडाएर ल्याउन सक्ने वस्तु तथा फोहोर हटाउने, विमानस्थलका बत्ती र अन्य अत्यावश्यक प्रणाली नियमित सञ्चालनमा रहेको सुनिश्चित गर्ने तथा कुनै उपकरण वा प्रणालीमा समस्या आए तत्काल सूचना जारी गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

    वैकल्पिक विमानस्थल र पर्याप्त इन्धनको व्यवस्था गर्न आग्रह

    वायुसेवा सञ्चालक तथा उडान चालक दललाई उडानअघि मौसमको विस्तृत मूल्यांकन गर्न प्राधिकरणले आग्रह गरेको छ । सम्भावित उडान ढिलाइ, आकाशमै होल्डिङ गर्नुपर्ने अवस्था तथा वैकल्पिक विमानस्थलमा अवतरण गर्नुपर्ने सम्भावनालाई ध्यानमा राख्दै पर्याप्त इन्धनको व्यवस्था गर्न र निर्धारित सुरक्षा प्रक्रियाको पूर्ण पालना गर्न निर्देशन दिइएको छ ।

    त्यसैगरी, हवाई मार्ग सेवा तथा हवाई ट्राफिक व्यवस्थापनका अत्यावश्यक पूर्वाधार, वैकल्पिक विद्युत् आपूर्ति र सञ्चार प्रणाली तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई भनिएको छ । मौसमका कारण कुनै गम्भीर जोखिम, अवरोध वा सुरक्षा घटना उत्पन्न भए निर्धारित माध्यमबाट तत्काल जानकारी गराउनुपर्ने पनि परिपत्रमा उल्लेख छ ।

    सम्भावित चक्रवाती आँधीको प्रभावबाट हवाई उडान तथा विमानस्थल सञ्चालनमा पर्न सक्ने जोखिम न्यूनीकरण गर्न प्राधिकरणले सम्बन्धित सबै निकायलाई पूर्वतयारी, आपसी समन्वय र सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑