कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार ९०३ सवारीसाधन कारबाहीमा परेका छन् । प्रहरीले एक महिनाको अवधिमा ती सवारीसाधनलाई कारबाही गरी ३३ लाख ८६ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टका अनुसार गत असोज महिनामा प्रदेशभर २३५ वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा परी १२ जनाको मृत्यु भएको थियो भने ३६३ जना घाइते भएका थिए । दुर्घटनामा ३२१ वटा सवारीसाधन संलग्न रहेका थिए ।
प्रहरीका अनुसार प्रदेशमा भएका दुर्घटनामध्ये २०८ वटा चालकको लापरबाहीका कारण भएका थिए । त्यस्तै, मादक पदार्थ सेवनका कारण छ वटा, सवारीसाधनको अवस्थाका कारण नौ वटा, यात्रुका कारण एउटा, पैदलयात्रुका कारण दुई वटा, चौपायाका कारण पाँच वटा र सडकको अवस्थाका कारण चार वटा दुर्घटना भएका थिए ।
सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले सवारीसाधनको यान्त्रिक परीक्षण कार्यक्रमसमेत सुरु गरेको प्रहरी वरिष्ठ उपरीक्षक विष्टले जानकारी दिए ।
यसैबीच, प्रहरीले भन्सार छली गरी ल्याइएका सामानविरुद्धको कारबाहीलाई पनि तीव्रता दिएको छ । एक महिनाको अवधिमा २४ जनालाई नियन्त्रणमा लिई दुई करोड २० लाख छ हजार रुपैयाँ मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरिएको छ ।
त्यसैगरी, प्राकृतिक सम्पदा दोहनमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिँदै २८ वटा सवारीसाधन बरामद गरिएको छ । यसबापत प्रहरीले तीन लाख ३४ हजार ९०० रुपैयाँ जरिवाना असुल गरेको छ । प्राकृतिक सम्पदा दोहनसम्बन्धी कारबाहीका क्रममा नौ जना पक्राउ परेको विवरणसमेत प्रहरीले सार्वजनिक गरेको छ ।
अवैध रूपमा वन पैदावार चोरी तथा ओसारपसार नियन्त्रणका क्रममा ६२ क्युफिट काठ बरामद गरिएको छ । उक्त कारबाहीबाट प्रहरीले तीन लाख १५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
यस्तै, अवैध पशुपन्छी नियन्त्रणसम्बन्धी कारबाहीबाट ११ लाख १२ हजार ३०० रुपैयाँ राजस्व सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस