काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा स्थानीयस्तरमा उत्पन्न हुने विवादलाई संवाद, सहमति र आपसी समझदारीका माध्यमबाट समाधान गर्ने उद्देश्यले मेलमिलापसम्बन्धी आठदिने आधारभूत तालिम सुरु भएको छ ।
पाँचखाल नगरपालिकाको आयोजना तथा प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालको प्राविधिक सहयोगमा बुधबारदेखि सुरु भएको तालिमले स्थानीय समुदायमा मेलमिलापको संस्कृति विकास गर्नुका साथै न्यायिक समितिको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पाँचखाल नगरपालिकाका उपप्रमुख सूर्यमाया दनुवारको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्चना खड्का अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
नगरपालिकाकी अधिकृत सुविता ढुंगानाले सञ्चालन गर्नुभएको कार्यक्रममा शाखा अधिकृत कल्याण सुवेदीले तालिमको उद्देश्य तथा महत्वबारे प्रकाश पार्नुभएको थियो ।
तालिमका प्रशिक्षक नेत्रप्रसाद धितालले संवाद र विश्वासलाई मेलमिलापको मुख्य आधारका रूपमा प्रस्तुत गर्दै समाजमा उत्पन्न विवाद तथा मनमुटावलाई आपसी समझदारीमार्फत समाधान गर्ने सीप प्रदान गरिने बताउनुभयो । उहाँका अनुसार संवादको माध्यमबाट विश्वास स्थापित गर्दै विवादका कारण टाढिएका व्यक्तिहरूबीच सम्बन्ध सुधार गर्नु र सामाजिक सद्भाव कायम राख्नु तालिमको प्रमुख उद्देश्य हो ।
तालिम उद्घाटनका क्रममा नगर उपप्रमुख दनुवारले मेलमिलापसम्बन्धी ज्ञान र सीप स्थानीयस्तरमा विवाद समाधानका लागि अत्यन्त उपयोगी हुने बताउनुभयो । उहाँले सहभागीलाई तालिममा सिकाइने विषयवस्तु ध्यानपूर्वक अध्ययन गर्न र प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।
तालिमबाट प्रशिक्षित जनशक्तिले स्थानीयस्तरमा विवाद समाधानका लागि सहजीकरण गर्नुका साथै नगरपालिकाको न्यायिक समितिलाई समेत आवश्यक सहयोग पुर्याउने विश्वास उहाँले व्यक्त गर्नुभयो । स्थानीय विवादलाई समयमै संवाद र सहमतिका माध्यमबाट समाधान गर्न सके अनावश्यक द्वन्द्व न्यूनीकरण हुनुका साथै समुदायमा आपसी विश्वास र सद्भाव कायम राख्न मद्दत पुग्ने उहाँको भनाइ थियो ।
आठ दिनसम्म सञ्चालन हुने तालिममा पाँचखाल नगरपालिकाका १३ वटै वडाबाट दुई–दुई जनाका दरले कुल २६ जना सहभागी हुनेछन् । तालिममा सहभागीलाई मेलमिलापको अवधारणा, संवादको महत्व, विवाद समाधानमा सहजीकरण तथा पक्षहरूबीच सहमति निर्माण गर्ने प्रक्रियासम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गरिने जनाइएको छ ।
स्थानीय तहमा नागरिकका दैनिक जीवनसँग जोडिएका विभिन्न विवाद समाधान गर्न न्यायिक समितिको महत्वपूर्ण भूमिका रहने भएकाले मेलमिलापसम्बन्धी दक्ष जनशक्ति तयार गर्नु आवश्यक मानिन्छ । यस तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा प्रयोग गर्न सके स्थानीयस्तरमै विवाद समाधान गर्ने क्षमताको विकास हुनुका साथै न्यायमा नागरिकको पहुँच सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस