२०८३ मंसिर ७, सोमबार | Mon, 23, Nov, 2026

जन्मभूमिसँग जोडिने अभियानः काठमाडौंमा २०० बढी तेमालवासी जुट्ने


२८६३ पाठक संख्या
  • २०८३ मंसिर ६, आईतबार मा प्रकाशित १ दिन अघि
  • काठमाडौं । काठमाडौंमा बसोबास गर्दै आएका तेमालवासीलाई एकीकृत गरी जन्मभूमिसँगको सम्बन्ध, आपसी एकता र सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेमालले मंसिर १३ गते बृहत् भेला आयोजना गर्ने भएको छ।

    काठमाडौं उपत्यकामा विभिन्न पेसा, व्यवसाय, रोजगारी तथा अध्ययनका सिलसिलामा बसोबास गर्दै आएका तेमालवासीलाई साझा सम्पर्क सञ्जालमा जोड्ने उद्देश्यले आयोजना गर्न लागिएको भेलाको मुख्य कार्यक्रम तेमाल–काठमाडौं सम्पर्क विभाग गठन रहेको आयोजकले जनाएको छ।

    कपन, नारायणचोकस्थित मिलनचोक पार्टी भेन्युमा बिहान ११ बजे सुरु हुने भेलामा २०० भन्दा बढी तेमालवासीको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममा व्यवसायी, पत्रकार, बुद्धिजीवी, समाजसेवी, विद्यार्थी, युवा, पार्टीका शुभेच्छुक तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहने आयोजकको विश्वास छ।

    काठमाडौंमा रहेका तेमालवासीबीच नियमित सम्पर्क, समन्वय र संगठनात्मक गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाउने उद्देश्यले गठन गर्न लागिएको सम्पर्क विभागको संयोजकमा जनक तामाङ रहेका छन्। विभागमार्फत काठमाडौंमा रहेका तेमालवासीलाई जन्मभूमिसँग जोड्दै सामाजिक, आर्थिक, शैक्षिक तथा विकास निर्माणका क्षेत्रमा सामूहिक सहकार्य अघि बढाउने लक्ष्य राखिएको छ।

    भेलामा काभ्रे निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य मधु चौलागाईं, रास्वपा काभ्रे जिल्ला सभापति प्रवीण ढकाललगायत पार्टीका नेता, प्रतिनिधि तथा विभिन्न क्षेत्रका अतिथिहरू सहभागी हुने जानकारी रास्वपा तेमालका संस्थापक सचिव प्रदीप मैनालीले दिएका छन्।

    मैनालीका अनुसार भेलाको सम्पूर्ण तयारी पूरा भइसकेको छ। कार्यक्रमलाई व्यवस्थित, सहभागितामूलक र प्रभावकारी बनाउन आवश्यक व्यवस्थापन तथा समन्वयका काम सम्पन्न गरिएको छ। उनले काठमाडौंमा बसोबास गर्ने सम्पूर्ण तेमालवासीलाई भेलामा सहभागी हुन आग्रहसमेत गरेका छन्।

    ‘हामी जुनसुकै ठाउँमा रहे पनि हाम्रो जन्मभूमि तेमालसँगको सम्बन्ध कहिल्यै टुट्नु हुँदैन। काठमाडौंमा रहेका तेमालवासीबीच चिनजान, एकता र सहकार्य बढाउँदै आफ्नो जन्मभूमिको विकास र समृद्धिमा योगदान पुर्‍याउने साझा उद्देश्यका साथ यो भेला आयोजना गरिएको हो। हाम्रो जन्मभूमि तेमाल बनाउने जिम्मेवारी हामी सबैको हो,’ मैनालीले भने।

    भेलाले काठमाडौंमा रहेका तेमालवासीलाई एउटै साझा मञ्चमा जोड्दै जन्मभूमिको पहिचान, विकास र समृद्धिका लागि सामूहिक पहल अघि बढाउने वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ। आयोजकले यस भेलालाई तेमालवासीबीच एकता अभिवृद्धि र जन्मभूमिको विकासमा योगदान जुटाउने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑