काठमाडौं, १३ मंसिर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित एक घरमा मध्यरात आगलागी हुँदा घर तथा घरभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् । आगलागीबाट करिब २ लाख ३१ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
माइतीमाया वाइबाको ब्लकले बनेको चारकोठे घरमा गएराति करिब साढे १२ बजे आगलागी भएको हो । घरमा कोही नभएको समयमा विद्युत् तार सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
आगलागीका क्रममा घरभित्र रहेको ग्याससमेत पड्किएपछि आगो फैलिँदा घरमा रहेका सम्पूर्ण सरसामान जलेर नष्ट भएका थिए । घटनाका बेला माइतीमायाका छोरा अबिनाश वाइबा कामको सिलसिलामा घरबाहिर रहेका थिए भने माइतीमाया वैदेशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दा, नगरपालिकाको दमकल र प्रहरीको संयुक्त प्रयासमा राति २ बजेपछि आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।


प्रतिक्रिया दिनुहोस