२०८३ श्रावण १७, आईतबार | Sun, 02, Aug, 2026

“पाँचखालमा १७ लाखको ह्वीलचेयर वितरण, अमेरिकी नागरिक ग्लेनले नेपालप्रति प्रकट गरे माया”


१९१८९ पाठक संख्या
  • २०८२ कार्तिक २५, मंगलबार मा प्रकाशित ८ महिना अघि
  • काभ्रेपलाञ्चोक । विश्वका धेरै मुलुकहरूमध्ये अमेरिकाले नेपाललाई विशेष प्राथमिकतामा राखेको बताउँदै अमेरिकी नागरिक मिस्टर ग्लेन गायनप्रमीले सुन्दर नेपालमा आउन पाउनु आफ्नो सौभाग्य भएको बताएका छन्।

    उनी मङ्गलबार पाँचखाल नगरपालिकामा आयोजित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वीलचेयर वितरण कार्यक्रममा बोल्दै यसो भने।

    रोटरी क्लब अफ काठमाडौँ मेट्रोसँगको समन्वयमा अमेरिकाबाट प्रतिनिधिको रूपमा आएका ग्लेनले पाँचखाल नगरपालिकाको तर्फबाट गरिएको आतिथ्यप्रति आभार व्यक्त गर्दै भने, “माया नै सबैभन्दा महत्वपूर्ण कुरा हो। हामीले माया गर्नुपर्नेलाई सधैं माया गरिरहनुपर्छ, विशेषगरी अपाङ्गता भएका व्यक्तिहरूलाई निरन्तर माया गर्नुपर्छ।”

    कार्यक्रमका सभाध्यक्ष तथा पाँचखाल नगर प्रमुख महेश खरेलले दाताले उपलब्ध गराएका कुनै पनि सामग्री पाँचखालमा दुरुपयोग नहुने प्रतिबद्धता जनाउँदै भने, “अन्यत्र के हुन्छ मलाई थाहा छैन, तर पाँचखालमा दुरुपयोग हुँदैन। पारदर्शिता र मितव्ययिता हाम्रो प्राथमिकता हो, जसले दाताहरू पनि सन्तुष्ट रहन्छन्।”

    स्वास्थ्य शाखा अधिकृत विष्णु गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपप्रमुख सूर्यमाया दनुवार, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, अपाङ्गता बाल टेवा संस्थाका प्रतिनिधि डेनडी शेर्पा, वडा अध्यक्षहरू र कार्यपालिका सदस्यहरूको उपस्थिति थियो।

    दुई वर्षे पुनःस्थापना कार्यक्रम

    पाँचखाल नगरपालिका र करुणा फाउन्डेशन नेपालको साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम दुई वर्षे योजना अन्तर्गत सञ्चालनमा छ।
    कार्यक्रमका संयोजक उज्ज्वल अधिकारीका अनुसार यसका लागि कुल ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ — जसमा पाँचखाल नगरपालिकाको तर्फबाट ४० लाख र करुणा फाउन्डेशनको तर्फबाट ४० लाख रहेको छ।

    “हामी समय–समयमा स्वास्थ्य क्याम्प सञ्चालन गर्दै स्वास्थ्य परीक्षण र अपाङ्गता परिचयपत्र वितरण गर्दै आएका छौं,” संयोजकअधिकारीले बताए। हालै भदौ १६ देखि २२ र कार्तिक २१ देखि २४ गतेसम्म दुई चरणमा क्याम्प सञ्चालन गरिएको थियो।

    ३३ जनालाई ह्वीलचेयर वितरण

    स्वास्थ्य शाखा अधिकृत गौतमका अनुसार पाँचखाल नगरपालिकामा हाल ५५० जना अपाङ्गता भएका व्यक्ति रहेका छन्। तीमध्ये ३९ जनालाई ह्वीलचेयर आवश्यक रहेको पहिचान गरिएको थियो। तीमध्ये ६ जनाले तत्काल आवश्यक नभएको जानकारी गराएपछि ३३ जनालाई ह्वीलचेयर वितरण गरिएको हो।

    करुणा फाउन्डेशन नेपालकी प्रतिनिधि सोभा माया बिकका अनुसार वितरित ३३ ह्वीलचेयरमध्ये रोटरी क्लब अफ काठमाडौँ मेट्रोको तर्फबाट (रफ फाइटर) १३ थान, वाल अपाङ्ग टेवा संस्थाको तर्फबाट (रफ फाइटर) १९ थान, र १ थान सीपी ह्वीलचेयर उपलब्ध गराइएको हो।

    बजार मूल्यअनुसार (रफ फाइटर) ह्वीलचेयरको मूल्य प्रति थान ५० हजार रुपैयाँ, र सीपी ह्वीलचेयरको मूल्य १ लाख रुपैयाँ रहेकोले सो अनुसार झन्डै १७ लाख रुपैयाँ बराबरको ह्वीलचेयर वितरण गरिएको हो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार