२०८३ श्रावण ३१, आईतबार | Sun, 16, Aug, 2026

पाँचखालमा संस्कारयुक्त शिक्षाको अभियान : योग्य नागरिक निर्माणमा एकल विद्यालयको पहल


३१४७ पाठक संख्या
  • २०८३ श्रावण ३१, आईतबार मा प्रकाशित ८ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखालमा जनकल्याण प्रतिष्ठानअन्तर्गत सञ्चालित एकल विद्यालय कार्यक्रमको प्रदर्शन तथा प्रस्तुति कार्यक्रम सम्पन्न भएको छ। संस्कारयुक्त शिक्षा, नैतिक मूल्य–मान्यता र व्यवहारिक ज्ञानमार्फत बालबालिकालाई योग्य तथा जिम्मेवार नागरिकका रूपमा विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

    ‘संस्कारयुक्त शिक्षा आजको आवश्यकता, शिक्षित नेपाल, स्वस्थ नेपाल, समृद्ध नेपाल’ भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको एकल विद्यालय अभियान नेपालका विभिन्न जिल्लामा विस्तार हुँदै गएको आयोजकले जनाएको छ। अभियानअन्तर्गत देशका ५० जिल्लामा कार्यक्रम सुरु भइसकेको तथा करिब १ हजार २०० विद्यालयमा संस्कारयुक्त शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ।

    पाँचखाल नगरपालिका–२ मा समेत एकल विद्यालय कार्यक्रम सञ्चालन हुँदै आएको छ। औपचारिक विद्यालयमा अध्ययन गरिरहेका बालबालिकालाई विद्यालय समयपछि अतिरिक्त रूपमा दुईदेखि तीन घण्टासम्म संस्कारयुक्त तथा नैतिक शिक्षा प्रदान गर्ने गरिएको छ। कार्यक्रममा बालबालिकालाई पाठ्यपुस्तकमा आधारित ज्ञानसँगै अनुशासन, नैतिकता, सामाजिक जिम्मेवारी, व्यवहारिक सीप, संस्कार र राष्ट्रप्रतिको उत्तरदायित्वबारे सिकाइने गरिएको आयोजकले जनाएको छ।

    एकल विद्यालय अभियानमार्फत बालबालिकाको व्यक्तित्व विकाससँगै असल आचरण, सामाजिक भावना र नेतृत्व क्षमताको विकास गर्ने लक्ष्य राखिएको छ। औपचारिक शिक्षासँगै संस्कार र व्यवहारिक ज्ञान आवश्यक रहेको भन्दै अभियानलाई समुदायस्तरसम्म विस्तार गर्ने प्रयास भइरहेको जनाइएको छ।

    पाँचखालमा एकल विद्यालय कार्यक्रम सञ्चालनको पहल जनकल्याण प्रतिष्ठान एकल विद्यालय बागमती प्रदेशका अध्यक्ष राजाराम मिश्रले गर्नुभएको हो। कार्यक्रममा बोल्दै मिश्रले योग्य नागरिक निर्माणको अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो।

    “योग्य नागरिक निर्माण अभियानमा हामी लागेका छौँ। यस अभियानलाई पाँचखालका अन्य विभिन्न स्थानमा समेत विस्तार गर्दै लैजाने हाम्रो योजना छ,” उहाँले भन्नुभयो।

    कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेकी प्रवक्ता अप्सरा ढुंगानाले एकल विद्यालय अभियानले बालबालिकामा संस्कार, अनुशासन र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुर्‍याउने बताउनुभयो। उहाँले अभियानको सफलताको शुभकामना दिँदै योग्य नागरिक निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    त्यसैगरी पाँचखाल नगरपालिका–३ का वडाध्यक्ष सुन्दर अधिकारीले वर्तमान समयमा बालबालिकालाई किताबी ज्ञानसँगै संस्कारयुक्त र व्यवहारिक शिक्षा आवश्यक रहेको बताउनुभयो।

    “आजको आवश्यकता संस्कारयुक्त र व्यवहारिक शिक्षा हो। औपचारिक शिक्षासँगै बालबालिकाको आचरण, संस्कार र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले सुरु गरिएको यो अभियान स्वागतयोग्य छ,” उहाँले भन्नुभयो।

    वडाध्यक्ष अधिकारीले एकल विद्यालयबाट प्रदान गरिने यस्तो शिक्षालाई पाँचखाल नगरपालिकाका अन्य स्थानमा समेत विस्तार गर्न आवश्यक रहेको बताउनुभयो। स्थानीय तह, समुदाय, अभिभावक तथा सम्बन्धित संघसंस्थाबीच सहकार्य भएमा अभियानलाई थप प्रभावकारी बनाउन सकिने उहाँको भनाइ थियो।

    सात देशको सहभागिता

    जनकल्याण प्रतिष्ठानको एकल विद्यालय सञ्चालन अभियानमा नेपालसहित विश्वका विभिन्न सात राष्ट्रबाट सहभागिता रहेको आयोजकले जनाएको छ। अभियानमा भारत, जर्मनी, इटाली, थाइल्यान्ड (बैंकक), संयुक्त अरब इमिरेट्स (दुबई), बहराइन र बेलायत (यूके) बाट सहभागिता रहेको जनाइएको छ।

    पाँचखालमा सम्पन्न प्रदर्शन कार्यक्रममा समेत अभियानमा आबद्ध विभिन्न मुलुकका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा एकल विद्यालयमा अध्ययनरत बालबालिकाले आफूहरूले सिकेको संस्कार, अनुशासन, नैतिक शिक्षा तथा विभिन्न सिर्जनात्मक गतिविधिसम्बन्धी प्रस्तुति प्रस्तुत गरेका थिए।

    आयोजकका अनुसार बालबालिकालाई केवल परीक्षामुखी शिक्षामा सीमित नराखी असल संस्कार, नैतिक मूल्य, सामाजिक उत्तरदायित्व र व्यवहारिक ज्ञानसहितको शिक्षा प्रदान गर्न सके मात्र भविष्यमा सक्षम र जिम्मेवार नागरिक निर्माण गर्न सकिन्छ। यही उद्देश्यका साथ एकल विद्यालय अभियानलाई समुदायका विभिन्न क्षेत्रमा विस्तार गर्दै लैजाने योजना रहेको जनाइएको छ।

    पाँचखालमा सुरु भएको कार्यक्रमले स्थानीय बालबालिकालाई विद्यालय शिक्षासँगै अतिरिक्त संस्कारयुक्त शिक्षा प्राप्त गर्ने अवसर प्रदान गरेको छ। अभियानलाई निरन्तरता दिँदै नगरका अन्य वडामा समेत विस्तार गर्न सके यसले बालबालिकाको सर्वाङ्गीण विकासमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु