भक्तपुर — भक्तपुरको प्राचीन जलसंस्कृति, धार्मिक परम्परा र सामुदायिक जीवनसँग अभिन्न रूपमा जोडिएका हिटीहरूको संरक्षण तथा प्रवर्द्धनका लागि यस वर्षको जनै पूर्णिमाका अवसरमा ‘९९ हिटी परिक्रमा’ अभियान सञ्चालन गर्न आह्वान गरिएको छ।
परम्परागत रूपमा जनै पूर्णिमाका दिन भक्तपुरका पूर्वाभिमुख हिटीमा स्नान गरी स्वस्थ शरीर, शुद्ध मन र वर्षभरि निरोगी जीवनको कामना गर्ने चलन रहँदै आएको थियो। तर पछिल्ला वर्षहरूमा पानीका प्राकृतिक स्रोत सुक्दै जानु, निकास प्रणाली अवरुद्ध हुनु, फोहोर बढ्नु तथा अव्यवस्थित सहरीकरणका कारण धेरै हिटी पानीविहीन बन्दै गएपछि यो मौलिक परम्परा पनि क्रमशः कमजोर हुँदै गएको छ।
यही हराउँदै गएको जलसंस्कृति र परम्परालाई नयाँ पुस्तासँग जोड्दै हिँड्ने, हेर्ने, बुझ्ने र संरक्षणका लागि आवाज उठाउने अभियानका रूपमा ९९ हिटी परिक्रमा अघि बढाउन लागिएको हो।
अभियानअन्तर्गत भक्तपुरका हिटीहरूलाई भौगोलिक तथा सांस्कृतिक अवस्थाका आधारमा चार खण्डमा विभाजन गरिएको छ। दक्षिणी भक्तपुरलाई सेक्सन ‘क’, उत्तरपश्चिमी क्षेत्रलाई सेक्सन ‘ख’, उत्तरपूर्वी क्षेत्रलाई सेक्सन ‘ग’ र सापारु अर्थात् गाईजात्रा मार्गसँग सम्बन्धित हिटीलाई सेक्सन ‘घ’ मा राखिएको छ।
सेक्सन ‘क’, ‘ख’ र ‘ग’ मा सापारु मार्गबाहिर रहेका हिटीहरू समेटिएका छन् भने सेक्सन ‘घ’ मा सापारु परिक्रमा मार्गसँग जोडिएका ४४ हिटी समावेश छन्।
९९ हिटी परिक्रमा धार्मिक तथा सांस्कृतिक भ्रमणमा मात्र सीमित नभई स्वास्थ्य, पैदल यात्रा र सम्पदा संरक्षणलाई एकैसाथ जोड्ने अभियानका रूपमा विकास गर्न खोजिएको छ।
पानी नआउने कतिपय हिटी परिसरसमेत अहिले बिहानको व्यायाम, भजन, पूजा तथा विभिन्न सामुदायिक गतिविधिको केन्द्र बन्न थालेका छन्। त्यसैले हिटी परिक्रमा अभियानलाई ‘फिट एन्ड फाइन’ यात्राका रूपमा अघि बढाउँदै शारीरिक स्वास्थ्यसँगै सांस्कृतिक सम्पदाप्रतिको चेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।
९९ हिटीको स्थलगत अध्ययनले भक्तपुरको परम्परागत जलप्रणाली संकटमा रहेको देखाएको छ। केही हिटीमा अझै पानीको नियमित प्रयोग भइरहेको छ भने केही पुनर्निर्माणपछि सञ्चालनमा आएका छन्। तर धेरै हिटी पानीविहीन, झारपातले ढाकिएका तथा फोहोरले अस्तव्यस्त अवस्थामा छन्। कतिपय हिटीले आधुनिक संरचनाको विस्तारका कारण आफ्नो मौलिक स्वरूपसमेत गुमाउँदै गएका छन्।
जगाती हिटीमा निरन्तर पानीको प्रयोग भइरहेको अवस्थाले ‘उपयोगले संरक्षण’ सम्भव हुने उदाहरण प्रस्तुत गरेको छ। यसको विपरीत कतिपय हिटीमा निकास बन्द हुनु, फोहोर थुप्रिनु, बस्ती विस्तार हुनु तथा पानीको प्राकृतिक पुनर्भरण चक्रमा आएको परिवर्तन प्रमुख समस्या बनेका छन्।
उत्तरपूर्वी भक्तपुरमा गरिएको अध्ययनले पनि पानीको संकट गम्भीर रहेको देखाएको छ। अध्ययन गरिएका १० हिटीमध्ये ७ वटा पूर्णतः सुकेका वा सञ्चालनमा नरहेका अवस्थामा भेटिएको उल्लेख छ।
हिटी संरक्षण गर्नु भनेको केवल एउटा पुरानो संरचना जोगाउनु नभई भक्तपुरको इतिहास, जलप्रणाली, जीवनशैली र सामुदायिक संस्कृतिको संरक्षण गर्नु हो।
हिटीसँग भजन, दाफा, जात्रा, पूजा, पोखरी, मन्दिर तथा विभिन्न सामुदायिक अभ्यास प्रत्यक्ष रूपमा जोडिएका छन्। यही कारण हिटीलाई जीवित सम्पदाका रूपमा संरक्षण गर्न स्थानीय समुदायको स्वामित्व र सक्रिय सहभागिता, नियमित सरसफाइ, पानीको स्रोत तथा पुनर्भरण क्षेत्रको संरक्षण आवश्यक देखिएको छ।
भक्तपुर टुर्स रिसर्च सेन्टरले नगरवासीसँगै विद्यार्थी, शिक्षक, कलाकार, स्वास्थ्यकर्मी, युवा, पर्यटन व्यवसायी, पर्यटक तथा सम्पदा संरक्षणकर्मीलाई ९९ हिटी परिक्रमा अभियानमा सहभागी हुन आह्वान गरेको छ।
अभियानको उद्देश्य पुस्तौँदेखि चलिआएको परम्परालाई केवल सम्झनामा सीमित नराखी नयाँ पुस्तालाई प्रत्यक्ष रूपमा हिँडाएर, हिटी देखाएर र त्यसको इतिहास तथा महत्व बुझाएर संरक्षणको अभियानसँग जोड्नु हो।
भक्तपुरका हिटी आज पानीको स्रोत मात्र नभई सभ्यता, संस्कृति र सामुदायिक जीवनका जीवित दस्तावेज हुन्। त्यसैले ९९ हिटी परिक्रमा भक्तपुरको विगत सम्झने मात्र होइन, भविष्यका लागि जलसम्पदा जोगाउने सामूहिक संकल्प बन्नुपर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस