२०८३ अषाढ २७, शनिबार | Sat, 11, Jul, 2026

एक महिनामा ५ बालबालिकाको मुन्द्रा लुट्ने युवक पक्राउ


८५९ पाठक संख्या
  • २०८३ अषाढ २७, शनिबार मा प्रकाशित ५ घण्टा अघि
  • बिर्तामोड, असार २७ गते । झापाको कनकाई नगरपालिकाका विभिन्न विद्यालयमा पुगेर बालबालिकालाई फकाई–फुल्याई कानको सुनको मुन्द्रा लुट्दै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

    प्रहरीले शिवसताक्षी नगरपालिका–९ रमाइलो निवासी ३० वर्षीय बिजु भनिने विजय दर्जीलाई शनिबार कनकाई नगरपालिका–३ सुरुङ्गास्थित सार्वजनिक बसबाट नियन्त्रणमा लिएको हो।

    प्रहरीका अनुसार कनकाई नगरपालिका–३ निवासी राजकुमार श्रेष्ठका ११ वर्षीय छोरा प्रज्वल श्रेष्ठलाई फकाएर दुवै कानको सुनको मुन्द्रा लुटिएको घटनाको अनुसन्धानका क्रममा दर्जी पक्राउ परेका हुन्। त्यसअघि स्थानीय भृकुटी माध्यमिक विद्यालयका दुई जना विद्यार्थी तथा कनकाई नगरपालिका–८ स्थित हिमाली माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत एक बालकको समेत उस्तै शैलीमा कानको मुन्द्रा लुटिएको थियो।

    इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक रवि राईका अनुसार पछिल्लो एक महिनाभित्र कनकाई नगरपालिकाभित्र मात्रै एउटै शैलीमा पाँच जना बालबालिकाको कानको मुन्द्रा लुटिएको घटना सार्वजनिक भएपछि प्रहरीले विशेष निगरानी बढाएको थियो।

    घटनास्थल आसपासका सिसी क्यामेराको फुटेज र पीडित बालबालिकाको बयानका आधारमा सबै घटनामा एउटै व्यक्तिको संलग्नता देखिएपछि प्रहरीले खोजी अभियान तीव्र बनाएको थियो। यसैक्रममा सार्वजनिक बसमा यात्रा गरिरहेका दर्जीलाई एक यात्रुले चिनेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिन सफल भएको हो।

    शनिबार बिहान पक्राउ परेका दर्जीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीले लुटिएको सुनको मुन्द्रा बिक्री–वितरणमा सहयोग गरेको आरोपमा दर्जीकी आफन्त विमला सांसाकरलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

    प्रहरीका अनुसार पक्राउ परेका दर्जीले प्रारम्भिक सोधपुछका क्रममा बालबालिकाको कानको मुन्द्रा चोरी गरेको स्वीकार गरिसकेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार