काभ्रेपलाञ्चोक । नेपाल परिवार नियोजन संघ काभ्रे शाखा, बनेपाको ४४औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ। शाखा सभापति प्रकाश कायस्थको सभापतित्व तथा बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेको प्रमुख आतिथ्यतामा आयोजित साधारणसभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको हो।
साधारणसभाले पुनम जोशीलाई शाखा सभापतिमा निर्विरोध निर्वाचित गरेको छ भने विकास वैद्य कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ। त्यसैगरी, नयाँ कार्यसमिति सदस्यहरूमा अञ्जना वैद्य श्रेष्ठ, रजनी वैद्य, अनु श्रेष्ठ, रूपा कर्माचार्य, ओमकाजी प्रजापति, निराकार श्रेष्ठ तथा युवा सदस्यका रूपमा रुद्र प्रजापति चयन हुनुभएको छ।
कार्यक्रमको सञ्चालन शाखाका कार्यालय प्रमुख रमेश श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपानेलगायत अतिथिहरूले परिवार नियोजन, प्रजनन स्वास्थ्य तथा संस्थागत सुदृढीकरणका विषयमा आफ्नो धारणा व्यक्त गर्नुभएको थियो।
साधारणसभामा संस्थाको वार्षिक प्रगति विवरण, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजनामाथि विस्तृत छलफल गरी अनुमोदन गरिएको थियो। सहभागीहरूले परिवार नियोजन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच अझ व्यापक बनाउन, सेवा प्रवाहलाई थप गुणस्तरीय र प्रभावकारी बनाउन तथा समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्न संस्थाले अझ सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।
वक्ताहरूले परिवार नियोजन र प्रजनन स्वास्थ्य सेवा समुदायको आधारभूत आवश्यकता भएकाले सरकारी तथा गैरसरकारी निकायबीच सहकार्यलाई थप प्रभावकारी बनाउँदै सेवा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

प्रतिक्रिया दिनुहोस