कास्की । तिहार नजिकिएसँगै प्लास्टिकजन्य कृत्रिम फूलमालाको बिक्रीवितरण रोक्न पोखरा महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । वातावरण संरक्षण, स्थानीय फूल उत्पादक किसानको प्रोत्साहन तथा प्राकृतिक फूलमालाको प्रयोगलाई बढावा दिने उद्देश्यले महानगरले प्रतिबन्धित प्लास्टिकका माला तथा फूल बिक्री गर्ने पसलमा निगरानी बढाएको हो ।
सरकारले प्लास्टिकजन्य फूलका गुच्छाको उत्पादन, आयात, बिक्रीवितरण तथा भण्डारणमा प्रतिबन्ध लगाए पनि बजारमा यस्ता सामग्री खुलेआम बिक्रीका लागि राखिएको पाइएपछि महानगरले अनुगमन अभियानलाई थप प्रभावकारी बनाएको जनाएको छ ।
महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार पोखरा महानगरपालिका–१ र २ अन्तर्गत विन्ध्यवासिनी तथा बगर क्षेत्रमा रहेका नौ वटा पूजा सामग्री र झिलिङ्गा पसलमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा छ हजार २८० रुपैयाँ बराबरका प्लास्टिकका माला, कृत्रिम फूल तथा बेकरी सजावटका सामग्री नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।
अनुगमनका क्रममा प्लास्टिकका माला, लेबल उल्लेख नगरिएका भाइमसला तथा कृत्रिम रङ प्रयोग गरिएका झिलिङ्गा बिक्रीका लागि राखिएको पाइएको प्रमुख कडरियाले बताए । प्रतिबन्धित तथा मापदण्डविपरीतका सामग्री नियन्त्रणमा लिएर नष्ट गरिएको उनको भनाइ छ ।
महानगरपालिकाले विगत तीन वर्षदेखि नै प्लास्टिकजन्य फूलमालाको बिक्रीवितरण रोक्न अभियान सञ्चालन गर्दै आएको छ । यस वर्ष पनि औपचारिक सूचना जारी गरी प्रतिबन्धित सामग्री बिक्री नगर्न व्यवसायीलाई आग्रह गरिएको थियो । तर, बजारमा त्यस्ता सामग्री बिक्रीका लागि राखिएको पाइएपछि अनुगमनलाई थप कडाइ गरिएको महानगरले जनाएको छ ।
महानगरपालिकाका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा गरिएको अनुगमनका क्रममा व्यवसायीलाई प्रचलित कानुन तथा मापदण्डको पूर्ण पालना गर्न, वस्तुको गुणस्तर र मूल्यमा पारदर्शिता कायम राख्न तथा म्याद गुज्रिएका सामग्री बिक्री नगर्न सचेत गराइएको थियो ।
उपप्रमुख गुरुङले प्लास्टिकजन्य फूलमालाको प्रयोगले वातावरण प्रदूषण बढाउनुका साथै प्राकृतिक फूलको बजारसमेत प्रभावित पार्ने भएकाले यसको प्रयोग र बिक्रीवितरण निरुत्साहित गर्न आवश्यक रहेको बताइन् । तिहारका बेला कृत्रिम फूलमालाको माग र बिक्री बढ्न सक्ने भएकाले महानगरले बजार अनुगमनलाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।
वन तथा वातावरण मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी प्लास्टिकजन्य फूलका गुच्छाको उत्पादन, आयात, बिक्रीवितरण तथा भण्डारणमा प्रतिबन्ध लगाइसकेको छ । उक्त कानुनी व्यवस्थाविपरीत कार्य गर्ने व्यक्ति वा व्यवसायीलाई सम्बन्धित ऐनको प्रावधानअनुसार जरिवाना हुने व्यवस्था छ ।
महानगरपालिकाले वातावरणीय स्वच्छता कायम राख्ने, उपभोक्ताको अधिकार संरक्षण गर्ने तथा स्थानीय किसानले उत्पादन गरेका प्राकृतिक फूलको बजार विस्तार गर्ने लक्ष्यसहित आगामी दिनमा पनि अनुगमनलाई निरन्तरता दिने जनाएको छ । महानगरको यस अभियानले तिहारमा स्वदेशी उत्पादनका सयपत्री, मखमलीलगायत प्राकृतिक फूलमालाको प्रयोग बढाउन र स्थानीय किसानलाई आर्थिक रूपमा लाभ पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस