२०८३ कार्तिक २०, शुक्रबार | Fri, 06, Nov, 2026

मधेश सरकार संकटमा : नेकपाका चार मन्त्रीले राजीनामा दिने


५५९ पाठक संख्या
  • २०८३ कार्तिक २०, शुक्रबार मा प्रकाशित ४ घण्टा अघि
  • जनकपुरधाम, २० कात्तिक । मधेश प्रदेशमा नयाँ सत्ता समीकरण बन्ने राजनीतिक कसरत तीव्र भएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सरकारबाट बाहिरिने तयारीमा जुटेको छ। पार्टीका चार मन्त्रीले राजीनामा दिने निर्णय गरेका छन्।

    नेकपा संसदीय दलका एक सांसदका अनुसार पार्टीले केहीबेरअघि भर्चुअल बैठकमार्फत सरकारबाट बाहिरिने निर्णय गरेको हो। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि बसेको बैठकले सरकारबाट बाहिरिने निष्कर्ष निकालेको बताइएको छ। निर्णयसँगै नेकपाका चारै मन्त्रीले केहीबेरमै मधेश प्रदेश सरकारसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्।

    मधेश प्रदेश सरकारमा नेकपाबाट अर्थमन्त्री तथा संसदीय दलका नेता युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहर कुशवाहा छन्।

    गत असोज ३० गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकार अल्पमतमा परेको थियो। त्यसयता नेकपाले कांग्रेस नेतृत्वको सरकारलाई साथ दिँदै आएको थियो। तर, पछिल्लो राजनीतिक घटनाक्रमसँगै नेकपा पनि सरकारबाट बाहिरिने भएपछि मुख्यमन्त्री यादव थप राजनीतिक संकटमा पर्ने देखिएको छ।

    मधेश प्रदेश सरकारले विश्वासको मत लिन अब आठ दिन मात्र बाँकी छ। यस्तो अवस्थामा नेकपाका मन्त्रीहरूको सम्भावित बहिर्गमनले सरकारको भविष्य थप अनिश्चित बनाएको छ।

    यसैबीच, मधेशमा एमाले, जनता समाजवादी पार्टी (जसपा) र नेकपासहितको नयाँ सत्ता समीकरण बन्न लागेको दाबी गरिएको छ। एमाले संसदीय दलका नेता सरोजकुमार यादवले केन्द्रमा तीन दलका शीर्ष नेताबीच सहमति जुटेर नयाँ समीकरण बनेको दाबी गरेका थिए।

    तर, जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले भने सामाजिक सञ्जालमार्फत उक्त दाबी सही नभएको टिप्पणी गरेका छन्। यद्यपि जसपाभित्र पनि नयाँ सत्ता समीकरणका लागि सहमति जुटिसकेको चर्चा चलिरहेको छ।

    नेकपाका मन्त्रीहरूको राजीनामा र नयाँ गठबन्धनको चर्चाले मधेश प्रदेशको सत्ता राजनीति निर्णायक मोडमा पुगेको छ। अब आठ दिनभित्र विश्वासको मत लिनुपर्ने मुख्यमन्त्री यादवले सरकार जोगाउन सक्छन् वा नयाँ गठबन्धनले प्रदेशको सत्ता आफ्नो हातमा लिन्छ भन्ने चासो बढेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑