१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पछिल्लो समय पत्रकारहरू असुरक्षित बन्दै गएको भन्दै सञ्चारकर्मीको सुरक्षा र प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएका छन् ।
पत्रकारहरूले प्रतिपक्षी दलको कार्यालयमा पुगेर प्रश्न गरिरहँदा उनीहरूको हातमा कालोपट्टी देखिने अपेक्षा गरेको उल्लेख गर्दै शर्माले पत्रकारहरू स्वयं सुरक्षित छन् कि छैनन् भन्ने प्रश्न गरेका हुन् ।
सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘प्रतिपक्षीकै कार्यालयमा गएर नै सही, बुम अगाडि तेस्र्याउँदै गर्दा पत्रकार साथीहरूको हातमा कहीँ न कहीँ कालोपट्टी होला भन्ने मलाई अनुमान लागेको थियो ।’
पत्रकारहरूले आफ्नो असहमति र विमति खरो रूपमा अभिव्यक्त गरिरहेको आफूले अपेक्षा गरेको उनले बताए । प्रतिपक्षी दलको कार्यालयदेखि सिंहदरबार र बालुवाटारसम्म पुगेर प्रधानमन्त्रीकै अगाडि पनि पत्रकारहरूले आफ्ना असन्तुष्टि र असहमति निर्भीकतापूर्वक राख्न सक्नुपर्ने उनको भनाइ थियो ।
पत्रकारहरूको हातमा कालोपट्टी नदेखिएको प्रसंग उठाउँदै शर्माले सञ्चारकर्मीको सुरक्षाबारे नै प्रश्न गरे ।
‘मैले तपाईंहरू कसैको हातमा कालोपट्टी देखिनँ । त्यसैले तपाईंहरूलाई सोध्न चाहन्छु, सबैभन्दा पहिले– तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ ?’ उनले पत्रकारहरूलाई प्रश्न गरे ।
शर्माको अभिव्यक्तिले पछिल्लो समय सञ्चार क्षेत्रको सुरक्षा, पत्रकारमाथि बढ्दो दबाब र प्रेस स्वतन्त्रताको अवस्थाबारे बहसलाई थप गम्भीर बनाएको छ ।


प्रतिक्रिया दिनुहोस