२१ कात्तिक, काभ्रे । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्मका सम्पूर्ण काम विधि, विधान र निर्धारित प्रक्रियाअनुसार नै सम्पन्न भएको दाबी गरेका छन् । पार्टीभित्र भएका गतिविधिलाई लिएर अनावश्यक भ्रम फैलाइएको भन्दै उनले सामाजिक सञ्जालमा आउने अपुष्ट आरोप र हल्लाको पछि नलाग्न नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको बधाई तथा बृहत् रक्तदान कार्यक्रममा सम्बोधन गर्दै उपसभापति शर्माले राष्ट्रिय आवश्यकता र बदलिँदो राजनीतिक परिस्थितिका कारण पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने अवस्था सिर्जना भएको बताए ।
विशेष महाधिवेशन र त्यसपछिका राजनीतिक घटनाक्रमलाई लिएर कसैले पनि अन्योलमा पर्नुपर्ने अवस्था नरहेको उनको भनाइ थियो । पार्टीले कुनै पनि विधि र प्रक्रिया नलत्याई इमानदारितापूर्वक आफ्ना काम अघि बढाएको उनले स्पष्ट पारे ।
‘कुनै भ्रममा, कुनै अलमलमा कसैलाई केही पर्ला कि भनेर पनि नपर्नुहोला । नेपाली कांग्रेस पार्टी विशेष महाधिवेशन गरेर १५औँ महाधिवेशनसम्म पुगेको छ । राष्ट्रिय आवश्यकता पर्यो, त्यस्तो परिस्थितिपछि देश र पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने अवस्था बन्यो,’ शर्माले भने ।
पछिल्लो समय सामाजिक सञ्जालमा कांग्रेसका नेताहरूलाई लक्षित गरी आर्थिक लेनदेन र करोडौँ रुपैयाँको चलखेल भएको भन्दै विभिन्न आरोप लगाइएकोप्रति उनले कडा आपत्ति जनाए । प्रमाणविहीन आरोप लगाएर कसैको राजनीतिक छवि धमिल्याउने प्रयास भइरहेको भन्दै उनले त्यस्ता प्रचारको विश्वसनीयतामाथि प्रश्न उठाए ।
उनले गगन थापा र आफूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै आर्थिक चलखेलको आरोपको खण्डन गरे । ‘कसैले फेसबुकमा अनर्गल लेखिदियो—यति खायो रे, उति खायो रे, यति बुझायो रे, यति करोड बुझायो रे । ए बाबा ! एकपटक स्वास्थ्यमन्त्री बनेको गगन थापा र जीवनमा मन्त्री नै नबनेको विश्वप्रकाश शर्मा । करोडौँ करोड बुझाउनुपर्ने हो भने हामी दुई भाइले मात्रै बुझाउन सकौँला कि ? वर्षौँसम्म सत्तामा बसेका नेताहरू त उतै हुनुहुन्थ्यो नि ! उहाँहरूले बुझाउन सक्ने होइन र ?’ उनले प्रश्न गरे ।
शर्माले कुनै व्यक्तिले भनेको वा सामाजिक सञ्जालमा लेखिएको भरमा त्यसलाई सत्य मानेर धारणा बनाउन नहुने बताए । आरोप लगाउने व्यक्तिको पृष्ठभूमि, भनाइको आधार र त्यसको प्रमाणसमेत परीक्षण गर्नुपर्ने उनको जोड थियो ।
उनले काल्पनिक उदाहरण प्रस्तुत गर्दै कसैले कुनै राजनीतिक निर्णयमा करोडौँ रुपैयाँको लेनदेन भएको दाबी गरेकै आधारमा त्यसलाई सत्य मान्न नसकिने बताए ।
‘एउटा बिचौलियाले कतै भन्यो अरे, भोलि बैंक कसुरमा पक्राउ परेको वा डकैतीमा परेको कुनै व्यक्तिले फलानोलाई प्रधानमन्त्री बनाउन फलानाले दाबी छाडेर ५० करोडमा डिल भएको थियो, त्यो पैसा नबुझाएको हुँदा पाँच करोड डकैती गरेर आएका हौँ भन्यो भने त्यसलाई अदालतले मान्छ कि मान्दैन ? कानुनले मान्छ कि मान्दैन ?’ शर्माले प्रश्न गरे ।
उनले अपुष्ट सूचना र आरोपलाई प्रमाणित तथ्यका रूपमा प्रचार गर्नु गलत भएको उल्लेख गर्दै नेता तथा कार्यकर्तालाई विवेकपूर्ण ढंगले अघि बढ्न आग्रह गरे । राजनीतिक प्रतिस्पर्धा र पार्टीभित्रका फरक विचारलाई आरोप–प्रत्यारोपको विषय बनाउनुभन्दा तथ्य र प्रमाणका आधारमा धारणा बनाउनुपर्ने उनको आशय थियो ।
उपसभापति शर्माले कांग्रेसको महाधिवेशन प्रक्रिया सम्पन्न भइसकेको सन्दर्भमा अब पार्टीको ध्यान विवाद र आरोप–प्रत्यारोपमा नभई मुलुकको भविष्य निर्माणमा केन्द्रित हुनुपर्ने बताए ।
‘ढुक्क मान्नुहोला, नेपाली कांग्रेसको विशेष महाधिवेशन गरेर १५औँ महाधिवेशनसम्म पुग्दै गर्दा पार्टीको विधि, विधान र प्रक्रियाअनुसार इमानदारितापूर्वक सबै काम भएको छ । कांग्रेस अब देशका लागि सपना बोकेर हिँडेको छ । मनमा हुटहुटी बोकेको छ,’ उनले भने ।
उनले कांग्रेसलाई नयाँ सोच, ऊर्जा र संकल्पका साथ अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै पार्टीको आगामी यात्रा देश र जनताको अपेक्षा पूरा गर्ने दिशामा केन्द्रित हुनुपर्ने सन्देश दिएका छन् ।
शर्माको सम्बोधनले कांग्रेसभित्र महाधिवेशनको प्रक्रिया र त्यससँग जोडिएर सार्वजनिक भएका आरोपबारे उठिरहेको बहसलाई जवाफ दिने प्रयास गरेको छ । उनले पार्टीको आन्तरिक प्रक्रियालाई लिएर फैलाइएका भ्रम चिर्दै अब विवादभन्दा माथि उठेर राष्ट्रिय जिम्मेवारी पूरा गर्न कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।


प्रतिक्रिया दिनुहोस