२०८३ भाद्र ८, सोमबार | Mon, 24, Aug, 2026

पाँचखालमा ३५ दिने अल्टिमेटम सकिन दुई दिन बाँकी, सार्वजनिक जग्गा खाली गराउने काम अझै अनिश्चित !


३१४७ पाठक संख्या
  • २०८३ भाद्र ८, सोमबार मा प्रकाशित १५ घण्टा अघि
  • सूचना जारी गरेको ३३ दिन बित्यो, सार्वजनिक जग्गा खाली गराउने सुरसार छैन

    काभ्रेपलाञ्चोक । सार्वजनिक जग्गा अतिक्रमण हटाउन पाँचखाल नगरपालिकाले जारी गरेको ३५ दिने अल्टिमेटम सकिन अब दुई दिन मात्रै बाँकी छ । तर, सूचना जारी भएको ३३ दिन बितिसक्दा पनि अतिक्रमणमा परेका सार्वजनिक जग्गा तथा त्यहाँ निर्माण गरिएका संरचना हटाउनेतर्फ सम्बन्धित पक्षबाट ठोस पहल देखिएको छैन ।
    नगरपालिकाले गत साउन ७ गते सार्वजनिक सूचना जारी गर्दै वडा नं. ४ स्थित समाजकल्याण चोकदेखि नगरपालिकाको कार्यालयसम्म जाने सडक क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका घर, टहरा, पर्खाल लगायतका संरचना ३५ दिनभित्र आफ्नै खर्चमा हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन दिएको थियो ।

    सूचनामा तोकिएको अवधिभित्र संरचना नहटाए नगरपालिकाले कानुनबमोजिम आफैं हटाउने र त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित अतिक्रमणकर्ताबाट असुलउपर गर्ने स्पष्ट चेतावनी दिइएको थियो । तर, म्याद सकिन दुई दिन मात्रै बाँकी रहँदा पनि सार्वजनिक जग्गा खाली गराउने प्रक्रिया भने अन्योलमै देखिएको छ ।

    नगरपालिकाले सूचना जारी गरेको १५औँ दिनमै सडक क्षेत्रको स्थलगत रेखाङ्कनसमेत नगरको तर्फबाट सम्पन्न गरेको थियो । वडा नं. ३ र ४ का वडा अध्यक्षहरूको रोहबरमा नगरपालिकाका प्राविधिक, नगर प्रहरी, नेपाल प्रहरी तथा स्थानीयको उपस्थितिमा गरिएको रेखाङ्कन २०३२ सालको नापी नक्सालाई आधार बनाएर गरिएको नगरपालिकाले जनाएको थियो ।

    रेखाङ्कनका क्रममा सार्वजनिक जग्गा तथा राजकुलो क्षेत्रमा पर्ने कित्ता नं. २८२ र ३२७ मा बनेका घर तथा टहरा हटाउन सम्बन्धित स्थानीय सकारात्मक रहेको स्थानियहरुको भनाइ थियो । त्यसबेला सहमतिको वातावरणमा संरचना हटाउने प्रक्रिया अघि बढ्ने संकेत गरिएको थियो । तर रेखाङ्कन सम्पन्न भएको लामो समय बितिसक्दा पनि अतिक्रमित संरचना हटाउने काम अघि बढ्न सकेको छैन । यसले नगरपालिकाले सार्वजनिक गरेको ३५ दिने सूचनाको कार्यान्वयनमाथि नै प्रश्न उठाएको छ ।

    नगरपालिकाको आफ्नै सूचनाअनुसार ३५ दिनको म्याद पूरा भएपछि अतिक्रमण भएको संरचना नहटाए नगरपालिकाले कानुनी प्रक्रिया पूरा गरी संरचना हटाउनुपर्ने अवस्था आउँछ । त्यसका लागि नगरपालिकाले डोजर परिचालन गर्ने र लागेको खर्च सम्बन्धित व्यक्तिबाट असुल गर्ने चेतावनी दिइसकेको छ ।

    तर, म्याद सकिन दुई दिन मात्रै बाँकी हुँदा नगरपालिकाले के गर्ने भन्ने विषयमा औपचारिक तयारी सार्वजनिक भएको छैन । यसले नगरपालिकाको सूचना केवल चेतावनीमा सीमित हुने हो कि वास्तवमै कार्यान्वयनमा जाने हो भन्ने चासो बढाएको छ ।
    समाजकल्याण चोकदेखि नगरपालिकाको कार्यालयसम्मको सडकलाई नगरपालिकाले स्तरोन्नति गर्ने योजना अघि बढाएको छ । नगरस्तरीय यातायात गुरुयोजनाअन्तर्गत उक्त सडकको चौडाइ १४ मिटर, अर्थात् सडक केन्द्रबाट दायाँ–बायाँ ७/७ मिटर कायम गरिएको छ ।

    सडक स्तरोन्नतिका लागि नगरसभाबाट बजेटसमेत विनियोजन भइसकेको अवस्थामा सार्वजनिक जग्गा अतिक्रमण हटाउने विषयलाई सडक विस्तार योजनाको महत्वपूर्ण पूर्वसर्तका रूपमा हेरिएको छ । रेखाङ्कन सम्पन्न भइसके पनि संरचना हटाउन नसकिए सडक स्तरोन्नति योजना कार्यान्वयनमा समेत अवरोध आउन सक्ने देखिन्छ ।

    नगरपालिकाले गुरुयोजना लागू हुनुअघि निर्माण भएका पुराना घर तत्काल भत्काउने नीति नभएको जनाएको थियो । तर सार्वजनिक जग्गा तथा सडक क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने विषयमा भने ३५ दिने सूचनामार्फत स्पष्ट निर्देशन दिइसकेको छ । सहमतिमा काम हुदा विकास निर्माणमा सहज हुने देखिन्छ । यदि बलजफती गर्नुपर्ने अवस्थामा विकासमा अवरोध साथै सडक मापदन्डको बिषयमा समेत बहस हुन सक्छ ।

    ३५ दिनको म्याद सकिन अब दुई दिन मात्रै बाँकी छ। नगरपालिकाले आफ्नै सूचनाअनुसार अतिक्रमणकारीलाई संरचना हटाउन लगाउँछ वा म्याद थपेर विषयलाई पुनः लम्ब्याउँछ भन्ने प्रश्न अहिले पाँचखालमा चासोको विषय बनेको छ ।
    नगरपालिकाले सार्वजनिक जग्गा संरक्षणमा कसैसँग सम्झौता नगर्ने र अतिक्रमण हटाएरै छाड्ने प्रतिबद्धता जनाउँदै आएको छ । अब त्यो प्रतिबद्धता व्यवहारमा देखाउने समय आएको छ ।

    ३५ दिने सूचना जारी भयो, १५ दिनमै रेखाङ्कन पनि भयो; तर ३३ दिन बितिसक्दा सार्वजनिक जग्गा भने अझै खाली भएको छैन । अब बाँकी दुई दिनमा नगरपालिकाले के गर्छ—डोजर चलाउँछ कि सूचना फेरि कागजमै सीमित हुन्छ ?

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु