१५ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवागढी जलविद्युत् आयोजना (आरएचपीएल) को सुरुङमा गरिएको खोजीबाट कुनै पनि मानवीय उपस्थिति फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली फर्किएको छ ।
सुरुङको अन्तिम भागमा मानिसहरू फसेको हुनसक्ने आशंकापछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित खोजी तथा उद्धार अभियान सञ्चालन गरिएको थियो ।
प्रधानमन्त्री बालेन शाहको सचिवालयका अनुसार सेनाको टोली सुरुङको भित्री भाग हुँदै अन्तिम बिन्दुसम्म पुगेको थियो । टोलीले सुरुङभित्र ड्रोनसमेत उडाएर विस्तृत रूपमा खोजी गरेको थियो । तर, लामो समयसम्म खोजी गर्दा पनि सुरुङभित्र कुनै मानिस फेला नपरेको सचिवालयले जनाएको छ ।
बाढीपछि आयोजनाको सुरुङभित्र मानिसहरू फसेको हुनसक्ने आशंकामा सुरक्षाकर्मी तथा उद्धार टोलीले खोजी तीव्र बनाएका थिए । सुरुङको कठिन भौगोलिक अवस्था र बाढीका कारण उत्पन्न जोखिमका बीच सेनाको टोलीले सम्भावित सबै स्थानमा खोजी गरेको थियो ।
खोजीका क्रममा मानवीय उपस्थिति नरहेको पुष्टि भएपछि नेपाली सेनाको टोली सुरुङबाट बाहिरिएर रसुवाको सदरमुकाम धुन्चेतर्फ फर्किएको हो ।
भोटेकोशीमा आएको बाढीले रसुवागढी जलविद्युत् आयोजना क्षेत्रसहित आसपासका बस्ती, संरचना तथा पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ । बाढीपछि प्रभावित क्षेत्रमा बेपत्ता तथा फसेका व्यक्तिको खोजी, उद्धार तथा क्षतिको विवरण संकलनलाई तीव्रता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस