काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङसहितका जिल्लाको सडक तथा पुलमा ठूलो क्षति पुर्याएपछि एक महिनामा पनि यातायात सहज हुन सकेको छैन।
बाढीबाट ३७ वटा मोटरेबल पुलमा क्षति पुगेको छ। तीमध्ये ३३ वटा पूर्ण रूपमा बगेका छन् भने ४ वटामा आंशिक क्षति भएको छ। पूर्ण रूपमा बगेका पुलमध्ये नुवाकोटमा १४, रसुवामा १३, धादिङमा ५ र गोरखामा एउटा छन्। मोटरेबल पुलमा मात्रै ९ अर्ब ४१ करोड ४४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक सरकारी विवरण छ।
त्यस्तै, ६८ वटा झोलुङ्गे पुलमा क्षति पुग्दा थप १ अर्ब ९३ करोड ६७ लाख रुपैयाँ बराबरको क्षति भएको छ। पुल बगेपछि स्थानीयवासीलाई नदी वारपार गर्न वैकल्पिक सडक, तुइन तथा अस्थायी संरचनामा निर्भर हुनुपरेको छ।
सडक र पुलको क्षतिले खाद्यान्न ढुवानी, बिरामीलाई स्वास्थ्य संस्था पुर्याउने तथा विद्यार्थीको आवतजावतसमेत प्रभावित भएको छ। सडक विभाग र नेपाली सेनाले विभिन्न स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाए पनि स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रको आवतजावत सहज हुने अवस्था देखिएको छैन।

प्रतिक्रिया दिनुहोस