२०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

पाल्पामा पहिरोको वितण्डा : एकको मृत्यु, तीन जना बेपत्ता


५४७ पाठक संख्या
  • २०८३ आश्विन ११, आईतबार मा प्रकाशित ४ घण्टा अघि
  • काठमाडौं । पाल्पामा अविरल वर्षापछि गएको पहिरोले छुट्टाछुट्टै स्थानमा घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। पहिरोमा परी केही व्यक्ति घाइतेसमेत भएका छन्।

    माथागढी गाउँपालिका–२, रुप्सेमा गएराति गएको पहिरोले घर पुरिँदा ७५ वर्षीय शेरबहादुर चिदी गम्भीर घाइते भएका थिए। उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्यचौकी पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको वडाध्यक्ष वोमबहादुर ठाडामगरले जानकारी दिए।

    पहिरोले घर पुरिँदा चिदीकी श्रीमती पनि घरमै थिइन्। तर, पहिरो खस्ने समयमा उनी शौचका लागि बाहिर गएकाले सकुशल रहेको जनाइएको छ।

    यसैबीच, अविरल वर्षाका कारण माथागढी गाउँपालिका–३, भैसकट्टामा गएको पहिरोले दुई घर पुरेको छ। पहिरोमा परी तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार आइतबार बिहान करिब ४ः३० बजे लिलबहादुर घर्ती मगरको घरमाथिबाट ठूलो पहिरो खसेको थियो। पहिरोले घर पुरिँदा ७५ वर्षीय लिलबहादुर घर्ती मगर, उनकी १७ वर्षीया छोरी दिना घर्ती मगर र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्ती बेपत्ता भएका छन्।

    बेपत्ताको खोज तथा उद्धारका लागि जनप्रतिनिधिसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको वडा अध्यक्ष तेजबहादुर घर्तीमगरले जानकारी दिए।

    माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीका अनुसार घटनास्थलमा ठूलो पहिरो गएकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। पहिरो पन्छाउँदै बेपत्ताको खोजी गर्नुपर्ने भएकाले उद्धारमा समय लाग्न सक्ने उनले बताए।

    घटनाको विस्तृत विवरण तथा बेपत्ताको अवस्थाबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑