काभ्रे, ११ असोज । लगातारको वर्षाका कारण काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८, जिपलाइनस्थित अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार आइतबार बिहान करिब ८ः५५ बजे सडकको माथिल्लो भागबाट ढुङ्गा, माटो तथा लेदोसहितको पहिरो खस्दा राजमार्गको सडकखण्ड पूर्णरूपमा बन्द भएको हो।
पहिरो खसेसँगै दुवैतर्फको सवारी आवागमन ठप्प भएको छ। राजमार्ग अवरुद्ध भएपछि धुलिखेल हुँदै बनेपा, पाँचखाल, दोलालघाट तथा सिन्धुपाल्चोकतर्फ आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्।
प्रहरीका अनुसार पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। तर, वर्षा निरन्तर भइरहेकाले थप पहिरो खस्न सक्ने जोखिमसमेत रहेको जनाइएको छ। सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।
अरनिको राजमार्ग राजधानी काठमाडौंलाई काभ्रेपलाञ्चोक हुँदै सिन्धुपाल्चोक र चीनसँगको उत्तरी सीमा क्षेत्रसँग जोड्ने प्रमुख सडक भएकाले यहाँ हुने अवरोधले लामो दूरीका यात्रु तथा मालवाहक सवारीसाधनमा समेत प्रत्यक्ष असर पार्ने गरेको छ।
प्रहरीले पहिरो प्रभावित क्षेत्रमा सावधानी अपनाउन तथा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न यात्रु तथा चालकलाई आग्रह गरेको छ। सडक खुलाउने कामको प्रगति र राजमार्गको अवस्थाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस