२०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

सप्तरीमा बाढीको वितण्डा : ५०० घर डुबे, दुई हजारभन्दा बढी प्रभावित


१०६७ पाठक संख्या
  • २०८३ आश्विन ११, आईतबार मा प्रकाशित ७ घण्टा अघि
  • सप्तरी । लगातारको वर्षासँगै सप्तकोशी नदीमा पानीको सतह बढेपछि सप्तरीका विभिन्न बस्तीमा बाढी पसेको छ। बाढीका कारण हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका करिब ५०० घर डुबानमा परेका छन् भने दुई हजारभन्दा बढी नागरिक प्रभावित भएका छन्।

    हनुमाननगर कङ्कालिनी नगरपालिका–५, ७, १२ र १३ का बस्तीमा बाढी पस्दा ४८३ घर डुबानमा परेका छन्। त्यस्तै, तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ मा बाढी पस्दा थप १७ घर डुबानमा परेका छन्।

    नगरप्रमुख वीरेन्द्र माझीका अनुसार शुक्रबार राति सप्तकोशी नदीमा पानीको सतह बढेसँगै बस्तीमा बाढी पसेको हो। बाढीका कारण घर तथा आसपासका क्षेत्र जलमग्न भएपछि स्थानीयको दैनिक जनजीवन प्रभावित भएको छ।

    नगरपालिकाले तत्काल प्रभावित परिवारका लागि राहत तथा खानाको व्यवस्था थालेको जनाएको छ। नगरप्रमुख माझीले प्रभावितहरूलाई बिहान र बेलुका दुई छाक खानाको व्यवस्था गरिएको जानकारी दिँदै पानीको सतह केही घटेपछि प्रभावित परिवारको पहिचान गरी थप राहत सामग्री उपलब्ध गराइने बताउनुभयो।

    लगातार वर्षा भइरहेकाले नदी तथा खोलाको जलस्तर अझ बढ्न सक्ने सम्भावना रहेकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑