११ असोज, काठमाडौं । कालीगण्डकी नदीमा आएको ठूलो बाढी बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८, फर्सेमा २५ घर बगेका छन्। नदीको बहाव निरन्तर बढेपछि बस्तीमा त्रास फैलिएको छ भने बाँकी घरसमेत उच्च जोखिममा परेका छन्।
नेपाल प्रहरीले दिएको जानकारीअनुसार आइतबार बिहान करिब ८ बजे कालीगण्डकी नदीको बहाव अचानक बढेर फर्से बस्तीमा पसेको हो। नदीको बाढीले बस्तीमा रहेका करिब ८० घरमध्ये २५ घर बगाएको प्रहरीले जनाएको छ।
बाढीको जोखिम बढेपछि बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। घटनामा हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।
बाढीका कारण ठूलो भौतिक क्षति भए पनि घटनास्थलमा प्रहरी टोली भने तत्काल पुग्न सकेको छैन। पहिरोका कारण सडक अवरुद्ध हुँदा उद्धार तथा क्षतिको विवरण संकलनमा कठिनाइ भएको प्रहरीले जनाएको छ।
फर्से बस्ती प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ। घटनास्थलमा प्रहरी टोली पुग्न नसकेका कारण बाढीबाट भएको वास्तविक क्षतिको विवरण अझै यकिन हुन सकेको छैन।
प्रहरीका अनुसार नदीको बहाव र बस्तीको अवस्थाबारे थप विवरण संकलन भइरहेको छ। स्थानीयलाई सतर्क रहन तथा जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरिएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको नेपाल प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस