पर्वत । कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वतको कुश्मा नगरपालिका–१, मालढुङ्गास्थित माझी बस्तीमा ठूलो क्षति पुर्याएको छ। आइतबार बिहान नदीको बहाव अस्वाभाविक रूपमा बढेपछि बाढी बस्तीमा पस्दा स्थानीयले बसोबास गर्दै आएका आधा दर्जनभन्दा बढी टहरा तथा अन्य संरचना बगाएको हो।
बाढीले बस्तीमा रहेका बङ्गुर फार्म, टहरा तथा अन्य भौतिक संरचनामा समेत क्षति पुर्याएको स्थानीयले बताएका छन्। नदी किनारमै रहेको बस्तीमा एक्कासि बाढी पसेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ भागेका थिए।
बाढी बस्तीमा प्रवेश गरे पनि हालसम्म मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। बिहानपख नदीको सतह बढ्दै गएपछि स्थानीयहरू समयमै सुरक्षित स्थानतर्फ सरेकाले सम्भावित ठूलो मानवीय क्षति टरेको हो।
पर्वतमा पछिल्ला तीन दिनदेखि लगातार वर्षा भइरहेको छ। लगातारको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि प्रहरीले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै माइकिङसमेत गर्दै आएको थियो।
नदीमा आएको बाढीका कारण माझी बस्तीका स्थानीयको दैनिक जीवन प्रभावित भएको छ भने घरटहरा तथा जीविकोपार्जनका संरचना बगाउँदा उनीहरू थप समस्यामा परेका छन्। बाढीपछि स्थानीय प्रशासन तथा सुरक्षा निकायले क्षतिको विवरण संकलन तथा जोखिममा रहेका नागरिकको उद्धार र सुरक्षित स्थानान्तरणका लागि आवश्यक पहल गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस